टेक बहादुर थापा / हिक्मत बहादुर नेपाली
अछाम चैत्र १६ ।
राजावादीहरुको हिंसात्मक आन्दोलनमा पत्रकारको हत्या भएको घट्नाको विरोधमा देशभरका पत्रकारहरु आन्दोलित भएका छन् । शुक्रबार काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको घट्नाको विरोधमा शनिवार देशभर विरोध प्रदर्शन भएको छ । आन्दोलनकर्मीले एक निजी घरमा लगाएको आगोमा जलेर एभिन्यूज टेलिभिजनका क्यामरापर्शन रजकको ज्यान गएको थियो । पत्रकार र संचार गृहमाथि भएको आक्रमणको विरोधमा अछाममा पनी विरोधसभा भएको छ । नेपाल पत्रकार महासंघ अछामको आयोजनामा सदरमुकाम मंगलसेनमा विरोधसभा भएको हो । मंगलसेनको खुला मंचबाट विरोधसभा सुरुभई विच बजारमा आएर कोणसभा भएको थियो । कोणभामा बोल्दै नेपालबार एसोसिएसन अछामका अध्यक्ष खडग बहादुर खड्काले आन्दोलनका नाममा आराजकता मच्चाउने मण्डलेहरुलाई कडा भन्दा कडा कार्वाही गर्नुपर्ने माग गर्नुभएको छ । लोकतान्त्रीक मुलुकमा राजतन्त्र फर्काउने सपना देखेर आन्दोलन गर्ने राजावादीहरु राजा फर्काउने नभई उदण्डता मच्चाउनमा तल्लीन भएको आरोप लगाउनुभएको छ । थन्की सकेको राज संस्था पुन फर्काउन खोज्नु यो भन्दा मुर्खता अरु केही हुन नसक्ने अध्यक्ष खड्काको भनाई छ । 
नागरिक समाज अछामका अध्यक्ष शंकर बहादुर रावलले शुक्रबार राजावादीहरुले गरेको आन्दोलनले नागरिकहरुको हक अधिकार कुण्ठित गरेको अरोप लागउनु भएको छ । लोकतान्त्रिक मुलुकमा विरोध गर्न र सभा सम्मेलन गर्नपाउने अधिकार भएपनी अधिकारका नाममा सरकारी तथा व्यक्तिगत सम्पति माथि लुटपाट गर्नु राम्रो पक्ष नभएको बताउनुभयो । राजावादीहरुको आन्दोलनले संविधानको उलंघन मात्र नभई अन्र्तराष्ट्रिय मानव अधिकारको उलंघन गरेकाले त्यस्ता व्यक्तिको पहिचान गरि हदैसम्मको कार्बाही हुनुपर्ने माग गर्नुभएको छ ।
कोणसभा कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ती समाज अछामका अध्यक्ष जय बहादुर बोगटीले चैत्र १५ गते काठमाण्डौमा राजवादीहरुले गरेको आन्दोलन मानव अधिकारका विरुद्ध भएको बताउनुभयो । ठुलो त्याग र बलीदान बाट आएको लोकतन्त्रमा अरु विकल्प सोच्न नसकिने भन्दै अध्यक्ष बोगटीले यही व्यवस्थाले नै मानवअधिकारको रक्षागर्ने दाबी गर्नुभएको छ ।
पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष तथा नेपाल प्रेस युनियन अछामका सभापति जनकराज भण्डारीले नागरिकलाई स्वतन्त्र रुपमा आफ्नो विचार राख्न पाउने अधिकार बाट समेत बञ्चित गर्ने राजतन्त्रबारे सोच्न नसकिने बताउनुभएको छ । राजावादीहरुको निशाना जहिले पनि मिडिया र पत्रकार हुने गरेकाले पत्रकारको कमल कमजोर पार्ने काम नगर्न चेतावनी दिनुभएको छ ।
यस्तै प्रेसचौतारी नेपालका पुर्व केन्द्रिय सदस्य तथा अग्रज पत्रकार शिवराज ढुंगानाले नागरिकलाई सुसुचित पार्ने काममा तल्लीन संचारकर्मी र संचार गृहमाथी आक्रमण गर्ने कथित राजावादीहलाई कार्बाही गर्नुपर्ने माग गर्नुभएको छ । जतीबेला राजाले कु गर्छ त्यो समयमा पत्रकार तथा मिडियामाथी आक्रमण हुने गरेकाले यस्ता निन्दनिय कार्यको घोर विरोध गर्नुभएको छ ।
विरोधसभा कार्यक्रममा मानव अधिकार तथा शान्ती समाजका पुर्व केन्द्रिय सदस्य मदन बहादुर कुवँर, प्रेस युनियनका केन्द्रिय सदस्य सुशील प्रसाद भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियो कार्यक्रमको संचालन पत्रकार महासंघ अछामका बरिष्ठ उपाध्यक्ष टेक बहादुर थापाले गर्नुभएको थियो । यस्तै साफेबगरमा पनि कृयाशिल पत्रकारहरुले विरोधसभा गरेका थिए ।https://www.youtube.com/watch?v=D70JvfsZTvs




