अछाम, असार ११
वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपाल को संयुक्त साझेदारीमा सञ्चालित “बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो परियोजना” अन्तर्गत कमलबजार नगरपालिका वडा नं. २, ३ र ५ तथा पञ्चदेवल बिनायक नगरपालिका वडा नं. १,३, ४ र ६ मा रहेका WDMC (Ward Disaster Management Committee) अर्थात् वडा विपद् व्यवस्थापन समिति हरूलाई विपद् व्यवस्थापनसम्बन्धी सामग्री सहयोग गरिएको छ।
वडा स्तरमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, उद्धार तथा प्रतिकार्य क्षमतालाई सुदृढ बनाउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो। सहयोग प्राप्त सामग्रीले बाढी, पहिरो, आगलागी लगायतका प्राकृतिक तथा मानवीय विपद्का बेला वडा स्तरबाट प्रभावकारी रूपमा परिचालन हुन तथा समुदायलाई तत्काल सहयोग पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
परियोजनाका अनुसार वडा विपद् व्यवस्थापन समितिलाई आवश्यक सामग्री उपलब्ध गराउनुको मुख्य उद्देश्य विपद्को समयमा द्रुत तथा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्नु, स्थानीय स्रोत–साधनको परिचालनलाई सहज बनाउनु, समुदायको सुरक्षा अभिवृद्धि गर्नु तथा सम्भावित जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्याउनु रहेको छ।
कार्यक्रममा सहभागी जनप्रतिनिधि, सरोकारवाला निकाय तथा स्थानीयवासीहरूले यस सहयोगले वडा स्तरको विपद् व्यवस्थापन क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् साथै परियोजना फिल्ड परिचालक दिनेश बि क ले समुदायको उत्थानशीलता (Resilience) अभिवृद्धि गर्दै सुरक्षित, समृद्ध र विपद् प्रतिरोधी समाज निर्माणका लागि आगामी दिनमा पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छन्




