अछाम कार्तिक १६ ।
एचआइभी सक्रमित व्यक्तिहरुलाई आयआर्जन संग जोड्नुपर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन । अछाम जिल्लाका विभिन्न पालिकाहरुमा रहेका एचआइभी सक्रमितहरु अहिले पनि विभिन्न समस्या झेली रहेकाले उनीहरुको समस्याको पहिचान गरि कसरी समाधान गर्न सकिन्छ यस तर्फ सरोकारवाला गम्भिर हुनुपर्ने उनीहरुको भनाई थियो । शनिबार मंगलसेनमा सम्पन्न भएको सरोकारवाला संगको समन्वत्मक बैठकमा सहभागि जिल्लाका सरोकारवालाहरुले विभिन्न संघ संस्थाले उनीहरुको क्षेत्रमा गरिरहेका कामको प्रशंसा गर्दै यतिले मात्रै उनीहरुको जिबिका चल्न कठिनाई देखिएको हुदा सक्रमितहरुको शारीरिक र मानसिक हिसाबले गर्न सक्ने सीप दिएर आत्म निर्भर बनाउन आवश्यक रहेको बताएका छन । पहिलको भन्दा अहिले धेरै कुरामा सहज भएको भन्दै सरोकारवालाहरुले अझै राम्रो कसरी गर्न सकिन्छ यस तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन ।
जिल्ला समन्वय समिति अछामका सदस्य प्रनाथ विश्वकर्माको अध्यक्षतामा भएको बैठकमा बोल्दै अछामका प्रमुखजिल्ला अधिकारी आनन्द सारुले स्थानीय सरकारले आफ्नो पालिकामा बसोबास गर्ने एचआइभी सक्रमितहरुलाई आवश्यक्ता अनुसारको बजेट छुट्याई परिणमुखी काम गर्न सुझाव दिनुभएको छ । हालसम्म सक्रमितहरुको क्षेत्रमा भएका कामको प्रशंसा गर्दै प्रमुखजिल्ला अधिकारी सारुले जनताको नजिकको सरकार स्थानीय सरकार नै भएको हुदा सरकारले यसको जिम्मेवारी बढी लिन आवश्यक रहेको बताउनुभयो । संस्थाहरुले पनि सबैभन्दा बढी स्थानीय सरकार संग समन्वय गर्नुुपर्ने सुझाव दिनुभएको थियो ।
बैठकमा सहभागि सक्रमितहरुले अहिलेपनी समुदायमा यो या त्यो बाहानामा सक्रमितहरुमाथी विभेद हुने गरेको गुनासो गरेका थिए । सामाजिक सभासमारोह, सामाजिक कार्य र कामगर्ने ठाउमा पनि सक्रमितहरु विभेदको सीकार हुने गरेको उनीहरुको गुनासो थियो । कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, अछामका प्रहरी प्रमुख ओमप्रकाश खनाल, प्रमुख अनुसन्धान अधिकृत अशोक पौडेल, जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगाना, स्वास्थ्य शाखाबाट चन्द्र प्रसाद ढुंगाना, पत्रकार महासंघका उपाध्यक्ष टेक बहादुर थापा लगायतले सुझाव सहितको मन्तव्य राख्नुभएको थियो । बैठकको सहजिकरण (एमपीडीएस) कार्यक्रम अधिकृत लक्ष्मी चलाउनेले गर्नुभएको थियो भने कार्यक्रमको संचालन एमपीडिएका जिल्ला संयोजक हरिशचन्द्र रावलले गर्नुभएको थियो ।





