हिक्मत बहादुर नेपाली
अछाम चैत १६ ।
सञ्चालनमा आएको करिब १ वर्षको अवधिमा शहरी आँखा केन्द्र कमलबजार बाट ७ सय ५ जनाले सेवा लिएका छन । गत बैशाख २१ गते बाट सञ्चालनमा आएको केन्द्र बाट सो मात्रामा सेवाग्राहीले आँखा उपचार सम्बन्धि विभिन्न सेवा लिएका नेत्र सहायक लक्ष्मी पौडेलले बताउनु भयो । जस मध्ये केन्द्रको पहलमा ६५ जनाको आँखाको शल्यक्रिया गरिएको छ । अछामको कमलबजारमा सञ्चालित शहरी आँखा केन्द्र बाट कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउपालिकाका नागरिकले सेवा लिईरहेका छन । आँखामा चोटपटक लागेका, दृष्टि कमजोर भएका तथा आँखामा विभिन्न प्रकृतिका समस्या भएकाहरुका लागि केन्द्रले आँखा परिक्षण र चस्मा बनाउने लगायतका सेवा प्रदान गरिरहेकाे छ ।
केन्द्रमा आँखामा चेकजाँच गर्न आउनु भएका तुर्माखाद गाउँपालिका वडा नं ८ धमालीका ईन्द्र बहादुर बिष्टले यश अघि आँखा उपचारका लागि धनगढी र सुर्खेत जानुपर्ने भएता पनि हाल कमलबजार बाटै सेवा लिन पाउदा खुसी लागेको बताउनु हुन्छ ।
यस्तै ढकारी गाउँपालिका बाट आँखा परिक्षण तथा चस्मा बनाउन आउनु भएका आईते जैसीले सेवा सञ्चालन गरेकोमा पालिका लाई धन्यवाद व्यक्त गर्नुभयो ।
शहरी आँखा उपचार केन्द्रले नागरिक स्तर सम्म वडा तह र विद्यालयमा शिविर समेत सञ्चालन गरेको छ । यश अघि कमलबजार नगरपालिकाका १० वटै वडामा र वडा भित्र सञ्चालित विद्यालयमा सञ्चालित शिविरमा क्रमश ९ सय ६ र १३ सय ३९ जनाले सेवा लिएको केन्द्रमा कार्यरत फिल्ड सहायक खगेन्द्र प्रसाद उपाध्यायले जानकारी दिनु भयो । नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान , नेत्र ज्योति संघ गेटा आँखा अस्पताल र कमलबजार नगरपालिकाको समन्वय तथा सहकार्यमा शहरी आँखा केन्द्र सञ्चालनमा छ ।





