काठमाडौँ । लोक सेवा आयोगले नायब सुब्बाको विज्ञापन आह्वान गरेको छ । आयोगले वार्षिक कार्यतालिका अनुसार आज बुधवार सूचना प्रकाशित गर्दै राजपत्र अनङ्कित प्रथम श्रेणी (अप्राविधिक)तर्फ नायब सुब्बाको विज्ञापन आह्वान गरेको हो ।
ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाको लागि तथा खुल्ला पदपूर्तिका लागि भारी सङ्ख्यामा विज्ञापन आह्वान गरिएको आयोगले जनाएको छ ।
दरखास्त बुझाउने अन्तिम मिति माघ २० गतेसम्म र दोब्बर दस्तुर तिरी माघ २७ गतेसम्म रहेको छ । दरखास्त अनलाइनमार्फत बुझाउन सकिने छ ।
परीक्षा केन्द्र आयोगको केन्द्रीय कार्यालय बाहेक आयोगका सबै कार्यालयहरू तथा जलेश्वर कार्यालयबाट विज्ञापन हुने पदका लागि सिरहाको लाहान र पर्साको वीरगन्जबाट पनि परीक्षा दिन सकिने छ ।
यस्तै सुर्खेतबाट विज्ञापन हुने पदका लागि डोल्पा र हुम्ला जिल्लाबाट पनि परीक्षा दिन सकिने आयोगले जनाएको छ ।
दरखास्त दस्तुर प्रत्येक समूहका लागि ४०० सय र थप समूहका लागि २०० थप दस्तुर बुझाउनु पर्ने छ ।
परीक्षा दस्तुर राष्ट्रिय वाणिज्य बैङ्क, ग्लोबल आइएमई बैङ्क, एनआइसी एसिया बैङ्क र कुमारी बैङ्कबाट बुझाउन सकिने छ ।