
सम्झना घिमिरे माघ ६ सामाजिक सञ्जाल, चिया पसलदेखि बैंकसम्म खुबै गफ हुन्छ- शेयरबजारको । त्यसमाथि अहिले नेपाल इन्फाइस्ट्रचर डेभ्लप्मेन्ट बैंक (इन्फ्रा)ले ८ अर्बभन्दा बढी रकमको आईपीओ जारी गरेपछि शेयरबजार झन् तात्तियो । इन्फ्राले जारी गरेको आईपीओ अहिलेसम्मकै सबैभन्दा धेरै हो । त्यसपछि घरघरमा शेयरबजारको चर्चा पुगेको छ ।
यति मात्र नभएर सामाजिक सञ्जालभरी अहिले आईपीओ, डिम्याटजस्ता शब्दहरू प्रसस्तै भेटिन्छ । अझ सिफारिस गर्नेहरू झन् कति-कति ।
शेयर खरिदकै लागि २५ लाखभन्दा डिम्याट खाता खोलिएका छन् । पुँजीबजारकै सबैभन्दा ठूलो रकम ८ अर्ब रुपैयाँ बराबरको इन्फ्राको आईपीओ खुलेसँगै सर्वसाधारण शेयरमा लगानी गर्न हौसिएका छन् ।
यसले शेयरबजार सहरबाट गाउँसम्म ओर्लिएको छ । कुनै बेला निश्चित लगानीकर्ताको मुठ्ठीमा हुने शेयरबजार गाउँसम्म वितरित भएको छ । शेयरमा बढ्दो चासोकै परिणाम हो– पछिल्लो १५ दिनमा मात्रै २ लाख ६ हजार ८ सय १५ जनाले डिम्याट खाता खोल्नु । अहिलेसम्म २५ लाख ८२ हजार २ सय वटा डिम्याट खाता खुलिसकेका छन् ।
जसमा कुल डिम्याट खातामा १५ लाख २० हजार २ सय ५१ पुरुष र १० लाख २९ हजार १ सय ८० वटा महिलाका नाममा छन् । यति मात्र नभएर अहिले शेयरमा लगानी गर्नेहरूको क्रेज यति बढ्यो कि शेयर संकलन गर्ने उद्देश्यअनुरूप सन्तान जन्मेर पास्नि नगर्दै पहिले डिम्याट खाता खोल्नतिर लाग्न थालिसके । अहिलेसम्म ३ लाख १० हजार ७० जना बालबालिकाको डिम्याट खाता खोलिएका छन् ।
चालु आर्थिक वर्षको ६ महिनामा मात्र थप ८ लाख २६ हजार २ सय ८७ वटा डिम्याट खाता खुलेका छन् । गत असारसम्म १७ लाख २७ हजार ९ सय १३ डिम्याट खाता खुलेका थिए ।
शेयरबजार निरन्तर उकालो यात्रामा हुनु र निरन्तर ठूला कम्पनीहरूले सर्वसाधारणका लागि ठूलो मात्रामा शेयर खुला गर्नु हो । दोस्रो बजार लगातार बुलिस् ट्रेण्डमा रहँदा शेयरको भाउ बढ्दै जान्छ । यसले दोस्रो बजार सुधार हुँदा प्राथामिक बजारमा पनि लगानीकर्ताको चाप बढाउँछ ।
यसबीचमा प्राय सबै कम्पनीको शेयर भाउ वृद्धि भएको छ । जसले लगानीकर्तालाई थप लगानी गर्न हौस्याएको पाइन्छ । यति मात्र नभएर लकडाउनका कारण घरभित्रै रहँदा मानिसहरू प्रविधिमैत्री बनेको देखिन्छन् । योसँगै शेयरबजार पनि प्रविधिमैत्री बन्दै जाँदा यो प्रतिको विश्वास लागनीकर्तामा थप मजबुत हुँदै गएको पाइन्छ ।
पछिल्लो १५ दिनमा मात्रै चन्द्रगिरि हिल्स र इन्फ्राको आईपीओ खुल्दा सर्वसाधारणको आकर्षण शेयरबजारमा लगानीकर्ताको चाप बढ्दै गएको देखाउँछ । यी कम्पनीबाहेक इन्फ्राको शेयरमा लगानीकर्ताको क्रेज र आईपीओमा आवेदन दिने भीडले अबको शेयरबजारको फरक दिशा तय गर्नेमा ढुक्क देखिन्छन शेयरबजार जानकारहरू ।
योभन्दा अगाडि पुँजी बजारमा लागनीकर्ताालाई भित्र्याउनमा अहम भूमिका खेलेका थिए, कृषि विकास बैंक, नेपाल टेलिकम, अपर तामाकोसीजस्ता कम्पनीहरूले । जसले ठूलो रकम बराबरको आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेका थिए । यसले शेयरबजारमा हलचल मात्रै ल्याएन गाउँगाउँमा नागरिकलाई पनि शेयर लगानीमा आर्कषति गर्न सफल बने ।
नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरी पराजुली यसरी ठूला कम्पनीहरूले सर्वसाधारणका लागि अर्बौं रुपैयाँ बराबरको शेयर निष्कासन गर्नुले समग्र शेयबजार क्षेत्रलाई नै चलायमान राख्न सफल हुने बताउँछन् । उनी भन्छन्, ‘आजभन्दा १० वर्षअघिको अवस्थालाई हेर्ने हो भने शेयरमा लगानी गर्ने सीमित व्यक्ति मात्रै भेटिन्थे । त्यसमा पनि शेयरबजार बुझेका त औँलामा गन्ने मात्रै थिए । तर, यसरी ठूला कम्पनीहरूले भटाभट सर्वसाधारणका लागि अर्बौंको शेयर निष्कासन गरिँदा पुँजीबजारको पहुँच विस्तारमा थप सघाउ पुर्याएको छ । अब इन्फ्राले पनि शेयरबजारमा गेम चेञ्जरको भूमिका निर्वाह गर्नसक्छ ।’
यस्तै, लगानीकर्ता हरि ढकाल पनि अब गाउँगाउँमा शेयरबजारको पहुँच पुग्ने बताउँछन् । उनी भन्छन्, ‘पछिल्लो समय आईपीओ निष्कासन गरेका नेपाल पुनर्बीमा कम्पनी, चन्द्रागिरि हिल्स र अहिलेको इन्फ्राले सर्वसाधारणलाई पुँजीबजारमा सहभागिताका लागि प्रोत्साहन गरेको छ । यसले गाउँगाउँसम्म पनि पुँजी बजारमा लगानी गर्नुपर्छ भन्ने जनचेतना फैलिएको छ ।’
शेयरबजारमा उत्साह थप्ने यी कम्पनीहरू
नेपाल टेलिकम
शेयरबजारमा पहिलोपटक ठूलो रकम बराबरको आईपीओ खुला गर्दै कम्पनीको स्वामित्वमा सर्वसाधारणलाई स्वागत गर्ने कम्पनी हो, नेपाल टेलिकम । नेपाल टेलिकमले कुल १५ करोड कित्ता नेप्सेमा सूचीकृत गर्दै १ करोड २७ लाख कित्ता शेयर सर्वसाधारणका लागि खुला गरेको थियो । त्यसबखत नेपाली पुँजीबजारको पहिलो ठूलो बराबरको आईपीओ थियो ।
नेपाल सरकारको १३ अर्ब ७२ करोड रुपैयाँ लगानी रहेको सो कम्पनीमा सर्वसाधारणले १ अर्ब २७ करोड रुपैयाँ लगानी गर्न पाएका थिए । बोनस शेयर र लाभांश राम्रो दिने भएपछि टेलिकममा शेयरका लागि आवेदन दिन सर्वसाधारण हौसिएका थिए ।
माथिल्लो तामाकोसी
पुँजीबजारलाई विस्तार गर्दै गाउँगाउँमा शेयरलगानीकर्ता जुटाउने श्रेय अपर तामाकोसीलाई पनि जान्छ । अपर तामाकोसीले ५ अर्ब १८ करोडको शेयर निष्कासन गरेर कुनाकन्धराका लगानीकर्तालाई पनि शेयर बजारमा प्रवेश गराउन सफल बनेको थियो ।
१० अर्ब ५९ करोड चुक्ता पुँजी रहेको अपर तामाकोसीले ५ अर्ब १८ करोड ९१ लाख रुपैयाँ बराबरको ५ करोड १८ लाख ९१ हजार कित्ता शेयर निष्कासन गरेको थियो । सो सेयरमध्ये २ करोड ६४ करोड ७५ लाख कित्ता सेयर जिल्लावासीसमेत पाउने व्यवस्था गरेको थियो । स्थानीयले ३० कित्ता अनिवार्य पाउने भएपछि अधिकांश ले शेयरका लागि आवेदन दिएका थिए ।
नेपाल पुनर्बीमा कम्पनी
पूर्नबीमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्कासन गर्यो । जसमा सर्वसाधारण ४ लाख ५७ हजार ९ सय २७ जनाले १ करोड ५१ लाख २६ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए । योबाहेक ७३ हजार ५ सय कित्ता कर्मचारीहरूलाई बाँडफाँड गरिएको थियो भने ८ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको थियो । साधारण शेयरमा भने सर्वसाधारणले आवेदन दिएका थिए ।
चन्द्रागिरि हिल्स
चन्द्रागिरि हिल्सले पनि सर्वसाधारणसम्म पुँजीबजारको पहुँच बढाउन अहम भूमिका खेल्यो । चन्द्रागिरिकोे साधारण शेयरमा १२ लाख ५१ हजार जनाले कूल २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन दिएका थिए । याे अहिलेसम्म सबैभन्दा बढी शेयर भर्ने संख्या हाे । कम्पनीले १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको कूल १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर बिक्री गरेको थियो ।
नेपाल इन्फाइस्ट्रचर डेभ्लप्मेन्ट बैंक(इन्फ्रा)
हालै नेपाल इन्फाइस्ट्रचर डेभ्लप्मेन्ट बैंक(इन्फ्रा)ले ८ अर्बभन्दा बढी रकमको आईपीओ जारी गरेपछि शेयरबजार झन् तात्तियो । इन्फ्राले जारी गरेको आईपीओ अहिलेसम्मकै सबैभन्दा धेरै हो । कुल ८ करोड कित्तामध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरूका लागि आरक्षण छुट्याइएको छ । सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको छ ।
इन्फ्राको आईपीओका लागि १५ लाख २९ हजार ४६० जनाले आवेदन दिएका छन् । आजसम्म १ खर्ब ८१ अर्ब २८ करोड ६१ लाख २ हजार बारबारको कूल १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता शेयर माग गर्दै आवदेन परेको छ ।