काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाएको छ ।

आइतबार पेरिसडाँडामा बसेको नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठकले दिएको अधिकार प्रयोग गरी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय भएको उहाँले बताउनुभयो ।

गएकाे माघ २ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट किन नहटाउने भनेर तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर स्पष्टीकरणको जवाफ नदिएपछि साधारण सदस्यबाट हटाएको श्रेष्ठको भनाइ छ ।

यस्तै आइतबार बसेको स्थायी कमिटी बैठकले पार्टी केन्द्रीय कार्यालयको सचिवमा स्थायी समिति सदस्य गङ्गालाल तुलाधरलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रचण्ड–नेपाल समूहकाे स्थायी कमिटीको अर्काे बैठक दुई दिनपछि बस्ने भएको छ ।

गएको पुस ५ गते प्रतिनिधि सभाको विघटनपछि नेकपा दुई समूहमा विभाजित भएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय