काठमाडौं ,चैत्र २८ । माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमै सम्भाव्यता भएका उपभोग्य वस्तुहरुको उत्पादन बृद्धि र स्वेदशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
सोमबार मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाको प्रगति विवरणबारे जानकारी लिनुहुँदै माननीय मन्त्रीज्यूले आयात र निर्यातबीचको खाडल पुर्ने, स्वदेशमै उत्पादन बृद्धि गरी आयात प्रतिस्थापनमा टेवा पुर्याउने उद्योगहरुको प्रवद्र्धन गर्नेतर्फ ध्यान दिन निर्देशन दिनुभयो ।
उहाँले सरकारले प्रस्तावित गरेका सात वटा औद्योगिक क्षेत्र, औद्योगिक ग्राम र विशेष आर्थिक क्षेत्र सञ्चालनमा देखिएका समस्याहरु अन्तरमन्त्रालय समन्वय गरी तत्काल समाधान गर्नुपर्ने बताउनुभयो।
यसैगरी माननीय मन्त्रीज्यूले उद्यमशीलता विकासका लागि दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यक्रम तथा योजना बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।
माननीय मन्त्रीज्यूले औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्दा कतिपय ठाउँमा बर्षौदेखि बसिरहेका सुकुम्बासी, भूमीहिन र अव्यवस्थित बसोबासको व्यवस्थापन मुख्य चुनौतिको रुपमा देखिएकोले पूर्वाधार निर्माण र उहाँहरुको व्यवस्थापनको काम सँगसँगै अगाडि बढाउने गरी काम गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
मन्त्रीज्यूले उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा, औद्योगिक तथा लगानी प्रबद्र्धन महाशाखा, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाबाट प्रगति विवरणबारे जानकारी लिनुभएको थियो । त्यसैगरी उहाँले कम्पनी रजिष्ट्रारको कार्यालय र लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्रबारे पनि जाकारी लिनुभयो ।