
एकेन्द्र महत , अछाम बैशाख ०८ । रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक, एवम् समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य , नेपाल पत्रकार महासंघ सुदुरपश्चिम् सदस्य तपेन्द्र कुँवर चौरपाटी गाउँपालिकाको अध्यक्षको लागि सिफारिस हुनुभएको छ । नेकपा (एकीकृत समाजवादी) ले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि चौरपाटी गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेको हो ।
२०६४ सालमा धनगढीको दिनेश एफएमबाट कुँवरले पत्रकारिता सुरुवात गर्नुभएको थियो । स्नातकोत्तर सम्मको अध्ययन गर्नु भएका कार्यकारी निर्देशक कुँवरले धनगढीबाट प्रकाशित सुदुर सन्देश दैनिक, मनिङ्ग वेल दैनिक, पश्चिम् टुडे रेडियोमा समाचार प्रमुखको जिम्मेवारी समेत निर्वाह गर्नुभएको थियो ।
पाँच वर्ष देखि रेडियो जनप्रिय एफएम कार्यरत कुँवर अछामको विकास निर्माण देखि सुशासन, सामाजिक रुपान्तरण विषयमा वहस गर्दै आउनुभएको छ । युवाहरुले गुनासो मात्र गरेर भएन, बिग्रिएको राजनीति सुर्धान र गाउँको विकास गर्न उम्मेदवारी दिने निर्णयमा पुगेको कुँवरको भनाई रहेको छ ।
गाउँपालिकाको अध्यक्षमा आफुले टिकट पाएमा गाउँको विकास, सुशासन र समृद्धिका लागि काम गर्ने बताउनुभयो । सडकको स्तरउन्नति, शिक्षामा गुणस्तर, बहुमुखी क्याम्पसको स्थापना , जनताको जिवनशैली परिवर्तन गर्ने कार्यक्रम अधि बढाउने अध्यक्षका प्रत्यासी कुँवरको भनाई रहेको छ ।
यस्तै वडाको भुगोल अनुसार कृषि र पशुपालन व्यवसायलाई पकेट क्षेत्रको अवधारणाबाट अधि बढाउने योजना रहेको जानकारी दिनुभयो । पत्रकारिताको नजरबाट उठान गरेका सवाललाई जनप्रतिनिधि भएपछि समाधानको लागि पहल गर्ने बताउनुभयो । पार्टीले उम्मेदवार बनाएपछि आफूले चुनाव जित्ने र पालिकालाई अझ उचाइमा लैजाने योजना आफूसित रहेको बताउनुभयो । अध्यक्षका अन्य उम्मेदवारले आफुलाई अध्यक्षमा सहयोग गर्ने पनि विश्वास व्यक्त गर्नुभयो ।