टेकराज भण्डारी बैशाख ९, अछाम ।
मंगलसेन नगरपालिकाले सेवा क्षेत्रमा रहेका विद्यालयमा बैशाख २१ गतेदेखि विद्यालयल स्वागत तथा भर्ना अभियान शुरु गर्ने निर्णय गरेकाे छ ।
बैशाख २० गते विद्यार्थी, अभिभावक तथा सराेकारवालाकाे सहभागीतामा नतिजा प्रकाशन गरि बैशाख २१ गतेबाट विद्यार्थी भर्ना गर्न निर्णय गरिएको हाे ।
मंगलसेन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख जगत बहादुर रावलकाे अध्यक्षतामा भएको बैठकमा जेठ ३ गतेबाट नयाँ शैक्षिक सत्र शुरु गरि पठनपाठन शुरु गर्ने निर्णय गरिएको छ ।
नयाँ शैक्षिक सत्रदेखि नै प्रभावकारी रुपमा पठनपाठन शुरु गर्नेमा बैठकमा जाेड दिईएकाे छ ।
बैठकमा २०७८ सालकाे बार्षिक परिक्षाकाे समीक्षा समेत गरिएको छ । जसमा प्रश्नपत्र तथा परिक्षालाई थप त्रुटिरहित, स्वच्छ र मर्यादित बजाउने प्रतिबद्धता गरिएको छ ।
यसैगरी कक्षा ८ काे अभिलेख व्यवस्थापन गर्ने, कक्षा ८ का नेपाली, अंग्रेजी, गणित, विज्ञान र समाजिक विषयकाे उत्तरपुस्तिकाका समपरिक्षण गर्ने निर्णय गरिएको छ ।
बैठकमा शाखाका प्राविधिक सहायक दिपक प्रसाद भण्डारीले हाल विद्यालयमा ७५ प्रतिशत पाठ्यपुस्तकको रकम भुक्तानी गरिसकेकाे र बाँकी २५ प्रतिशत पछि विद्यार्थी विवरणका आधारमा भुक्तानी गरिने जानकारी दिनुभयाे ।
विद्यार्थी भर्ना अभियानमा नै पाठ्यपुस्तक वितरण गर्न उहाँले बताउनुभयो ।
बैठकमा जतिसक्दो छिटाे माग फारम भर्ने, गरिब लक्षित र अपांग छात्रवृत्ति लक्षित विद्यार्थीलाई वितरण गर्ने, आईएमआईएस अद्यावधिक गर्ने लगायतका निर्णय गरिएका छन् ।
बैठककाे समापनमा षाेडशादेवि माविका सहायक प्रधानाध्यापक बृकेश बाेगटीले सिकाई सुधारका लागि शैक्षिकसत्रकाे सुरुदेखि नै पहल गर्नुपर्ने बताउनु भयाे । शिक्षक दरबन्दी मिलानका लागि पनि नगरले पहल गर्नुपर्ने सुझाव दिनुभयो । अभिभावक र विद्यार्थीकाे अनिवार्य उपस्थितिमा अभिभावकको प्रतिवद्धता सहित भर्ना गर्ने आफ्नाे विद्यालयकाे याेजना रहेको उहाँले बताउनुभयो ।
यस्तै शिक्षा अधिकृत जगत बहादुर रावलले सामुदायिक विद्यालयकाे गुणस्तर वृद्धि तथा सुधारका लागि हरेक शिक्षकले प्रतिबद्ध हुनुपर्नेमा जाेड दिनुभयाे । बालबालिकालाई घर तथा विद्यालयमा व्यवहारिक ज्ञान र संस्कार सिकाउनमा ध्यान दिनुपर्नेमा अधिकृत रावलकाे जाेड छ । शिक्षक भनेका शिक्षा क्षेत्रका महत्त्वपूर्ण खम्बा भएको भन्दै
आफ्नाे पेशाप्रति प्रतिबद्ध भएर विद्यार्थीकाे भविष्यलाई ख्याल गर्दै अघि बढ्न आग्रह गर्नुभयाे । कक्षा (४-५) काे स्थानीय विषयकाे पाठ्यक्रम तयार भई विद्यालयमा गैसकेकाे र कक्षा (६-८) काे पाठ्यक्रमकाे अन्तिम मस्यौदा तयार भैसकेको भन्दै यही शैक्षिक सत्रबाट स्थानीय बिषयकाे पठनपाठन गर्नुपर्ने बताउनु भयाे । आउँदाे शैक्षिक सत्रदेखि नै पाठ्यपुस्तक तयार गर्न प्रयास गर्ने रावलले बताउनुभयो । साे अवसरमा विद्यालय पाेषण तथा खाद्य कार्यक्रमका सहजकर्ता रेखा केसीले दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउन आग्रह गर्दै हरेक विद्यालयमा बाल क्लब गठन गर्न आग्रह गर्नुभयो । नगरका सबै विद्यालयलाई स्वास्थ्य सामग्री कीट तथा सिकाई सहजीकरण एवं सन्दर्भ सामग्री समेत प्रदान गरिएको छ ।
नगरपालिकाका विभिन्न विद्यालयका प्रधानाध्यापककाे सहभागिता
बैठककाे सञ्चालन शाखाका प्राविधिक सहायक दिपक प्रसाद भण्डारीले गर्नुभएको थियाे ।