
बैशाख २२, अछाम
नेकपा (एमाले) मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष पदका उम्मेदवार देबेन्द्र प्रसाद भण्डारीले जनताको सेवा नै आफ्नाे जीवनकाे लक्ष्य रहेको बताउनुभएको छ । आफू सानैदेखि पराेपकार र जनताको सेवा गर्नुपर्छ भन्ने भावनाका साथ अघि बढेकाे भन्दै गाउँकाे विकास र जनताको सेवा गर्नकै लागि नेकपा एमालेबाट अध्यक्षमा उम्मेदवारी दिएकाे बताउनुभयो ।
मंगलसेन नगरपालिका वडा नम्बर ६ का विभिन्न टाेलमा घरदैलो गर्ने क्रममा अध्यक्षका उम्मेदवार भण्डारीले जनताको सेवा गर्ने पार्टी पनि एमाले नै भएको दाबी गर्नुभयो ।
२०७४ सालकाे स्थानीय तहकाे निर्वाचनमा वडा सदस्यमा लाेकप्रिय मतका साथ विजयी भएका भण्डारीले आफ्नाे ५ बर्षकाे कार्यकालमा पनि वडा सरकार, स्थानीय तह तथा आफ्नाे व्यक्तिगत तर्फबाट समेत जनताको सेवाका लागि हरबखत तयार भएको भन्दै अब थप याेजनाका साथ जनताको सुखदुःख मा साथ दिन अमूल्य मत दिएर अध्यक्षमा निर्वाचित गराउन आग्रह गर्नुभयाे ।
आफू निर्वाचित भएमा वडाकाे विकासमा थप गति दिने उहाँको भनाइ छ ।
सबैसंग समन्वय गर्दै वडाका सडककाे स्तराेन्नति गर्दै मुख्य सडक कालाेपत्रेका लागि अग्रसर हुने, सबै विद्यालयकाे व्यवस्थापन तथा आवश्यकता अनुसार स्तरवृद्धि गर्दै गंगा माविलाई कक्षा १२ तथा प्राविधिक धारमा सञ्चालनका लागि पहल गर्ने, विद्युत नपुगेको ठाउँमा विद्युतीकरण तथा सडक साैर्य बत्तिकाे विस्तार गर्ने, उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई पुरस्कृत गर्ने, पर्यटकीय क्षेत्रकाे थप प्रवर्द्धन गर्ने, ठुलासेनमा हरित पार्क निर्माणका लागि सहकार्य तथा समन्वय गर्ने, वातावरणीय संरक्षणका कार्यहरुलाइ तीब्रता दिने, एक घर एक धाराकाे अवधारणालाई मूर्त रुप दिने लगायतका कार्य आफ्ना प्रतिबद्धता भएको उहाँले औंल्याउनुभयाे ।
स्थानीय सरकार संचालन ऐन -२०७४ ले दिएकाे अधिकार तथा नगरपालिकाका ऐन, नियम, कार्यविधिमा रहेर वडालाई विकास, सुशासन तथा समृद्धिमा अग्रसर गराउन आफ्नाे टिम प्रतिवद्धताका साथ लाग्ने उहाँकाे उद्घाेष छ ।
वडा सञ्चालनको अनुभव सहित आफू जनतामाझ आएकाे भन्दै वडाबासीलाई कसैकाे डर, धाक तथा प्रलाेभनमा नपर्न समेत आग्रह गर्नुभयाे ।
नगरपालिकाका प्रमुखका उम्मेदवार पदम बाेहरा तथा उपप्रमुख संगीता रावल साेडारी एवम् वडामा आफू अध्यक्ष सहित महिला सदस्य सरिता भण्डारी, दलित महिला सदस्य जसरा दमाई, खुला सदस्य दुर्गाप्रसाद भण्डारी र जन्मराज भण्डारीको टिमलाई बिजयी गराउन आग्रह गर्नुभयाे ।
हरेक जनतासंग जाेडिँदै सुखदुखमा साथ दिएका कारण आफुलाई जनताले पुनः बिजयी गराउने वडा अध्यक्षका उम्मेदवार भण्डारीले विश्वास व्यक्त गर्नुभयाे ।