
काठमाडौं। ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर निष्काशन गर्न लागेको हो।
शेयर निष्काशनका लागि कम्पनीले बिक्री प्रबन्धकको जिम्मा बिओके क्यापिटल मार्केट लिमिटेडलाई दिएको छ।
ग्रीनलाइफ हाइड्रोपावरले केयर रेटिङ्ग नेपाल लिमिटेडले “केयर एनपी बीप्लस एलएस” रेटिङ्ग प्रदान गरेको छ। साधारण शेयरको बिक्री माघ २३ देखि माघ २७ सम्म खुल्ला रहने छ ।
कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाँउपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट विजुली उत्पादन गर्ने छ। २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिद बिक्री सम्झौता गरीसकेको छ।
साथै, ४० मेगावाट क्षमताको जलविद्युत आयोजनामध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ बर्ष भित्रमा उत्पादन प्रारम्भ हुने छ। त्यस्तै प्रशारण लाइनको कार्य ७० प्रतिशत सम्पन्न भईसकेको छ।
कम्पनीले सामुहिक लगानी कोष र कम्पनीको कर्मचारीहरुलाई छुट्टाएको सम्पूर्ण शेयर बाडँफाड भईसकेको छ। २ अर्ब ५० करोड अधिकृत पुँजी रहेको कम्पनीको यस निष्काशन पश्चात् चुक्ता पूँजी १ अर्ब ८० करोड रहनेछ।