
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सडकमा देखिएका छन्। काम विशेषले तीन दिनदेखि काठमाण्डौंमै रहेका मुख्यमन्त्री भट्ट नेकपा दाहाल–नेपाल पक्षले आह्वान गरेको आमहड्ताल सफल पार्न आन्दोलनमा सहभागी भएका हुन्।
उनी ललितपुरको सातदोबाटो क्षेत्रमा बन्द गराउन निस्किएका हुन्। मुख्यमन्त्री भट्ट सातदोबाटोमा आन्दोलनकारीसँग उभिएको तस्वीर उनका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
सातदोबाटो चोकमा मुख्यमन्त्रीसँगै दाहाल–नेपाल पक्षका स्थायी कमिटी सदस्य देव गुरुङ पनि तस्वीरमा देखिएका छन्।
प्रचण्ड–नेपाल समूहले नेता गुरुङलाई आमहड्ताल सफल पार्न सातदोबाटो क्षेत्रको कमान्डर तोकेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको प्रचण्ड–नेपाल समूहले बिहीबार आमहड्ताल घोषणा गरेको छ।