
बैतडी — दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ । जिल्ला अस्पताल बैतडीमा भागरथीको शव पोस्टमार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन
शव बुझेपछि न्याय नपाइने आशंका भएकाले दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने निर्णयमा परिवार पुगेको भागरथीका काका शंकर भट्टले बताए । ‘घटना र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको निष्कर्षमा हामी पुगेका छौं,’ उनले भने, ‘दोषी पत्ता नलागेसम्म शव नबुझ्ने निर्णयमा छौं ।’ घटनाको राजनीतीकरण भएर दोषी उम्किन्छन् कि भन्ने आशंकाले शव नबुझेको उनको भनाइ थियो । ‘अहिलेसम्म प्रहरी–प्रशासनसँग त शंका छैन, कोही पहुँच भएका मानिस दोषी भए पत्ता लाग्न मुस्किल हुन्छ कि भन्ने डर छ, त्यसैले शव बुझेका छैनौं,’ उनले भने ।
घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदी आइतबार घटनास्थल पुगेका छन् । प्रदेश प्रहरी कार्यालयका एसएसपी जनक पाण्डे र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्राविधिक टोली यसअघि नै घटनास्थल पुगेर अनुसन्धानमा जुटेका छन् । भागरथीका नजिकका साथी, आफन्तलगायतलाई घटनाबारे सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबारसम्म १० जनासँग सोधपुछ गरिएको र प्राविधिक टोलीले मोबाइल कलडिटेल बुझ्ने काम गरिरहेको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा भन्न नमिल्ने जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । ‘धेरै टोलीले अनुसन्धान गरिरहेका छन्, अपराधीलाई छिट्टै कानुनी कठघरामा ल्याउँछौं,’ उनले भने ।
भागरथीका हत्यामा संलग्नलाई कारबाही माग गर्दै आइतबार बैतडीका विभिन्न स्थानमा प्रदर्शन भएका छन् । विद्यार्थी, शिक्षक, नागरिक अगुवालगायत स्थानीय सर्वसाधारणले दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर भागरथीलाई न्याय दिनुपर्ने माग गरेका छन् । प्रदर्शनकारीले जिल्ला सदरमुकामको शाहीलेक, गोठालापानी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयबाहिर पुगेर नाराबाजी र कोणसभा गरेका थिए । टाउको र पाखुरामा कालोपट्टी बाँधेर विद्यार्थी, शिक्षकसँगै स्थानीयले न्यायको माग गरेका हुन् । घटनाका दोषी पक्राउ नपरुन्जेल प्रदर्शन जारी रहने जगन्नाथ बहुमुखी क्याम्पसकी छात्रा निर्मला टेरले बताइन् । यस्तै पाटन नगरपालिकामा पनि विद्यार्थी र स्थानीयले सडकमा प्रदर्शन गरेका थिए ।
बुधबार बिहान १० बजे विद्यालय गएकी उनी दिउँसो २ बजेतिर विद्यालयबाट केही साथीहरूसँगै घर जाने बाटोमै रहेको खोचलेक बजारमा देखिएकी थिइन् । साथीहरूसँग घर जान्छु भनेर हिँडेकी उनी बेपत्ता भएकी थिइन् ।