
रूपन्देही — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मान्छे देखाउन र टाउको गन्नभन्दा चुनावमा गएर भोट गन्न अर्का अध्यक्ष पुष्पकमल दाहाल र उनी पक्षधरलाई आग्रह गरेका छन् ।
बुटवलमा शनिबार आफ्नो पक्षको लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले कति मान्छे ल्याउने र देखाउने भन्ने होडबाजीमा नलाग्न आग्रह गरे । ‘उहाँहरूले मान्छे हेर मान्छे हेर भन्नुभएको छ । मान्छे किन हेर्नुपर्यो ?’ उनले भने, ‘वैशाखमा चुनाव गराऊँला र बाकसबाट भोट नै गनेर देखाउँला नि !’ उनले अबको चुनावमा ५० लाख समानुपातिक मत र प्रत्यक्षमा बहुमत ल्याउने भन्दै सक्ने भए आफ्नो भोट घटाएर देखाउन दाहाल–नेपाललाई चुनौती दिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुवै समूहले एकपछि अर्को प्रतिस्पर्धात्मक रूपमा सभा गर्दै आएका छन् । माघ १५ गते दाहाल–नेपाल समूहले बुटवलमा सभा गरेपछि ओली समूहले शनिबार
‘जनयुद्ध दिवस’ को अवसर पारेर सभा एवं प्रदर्शन आयोजना गरेको हो । बुटवल उपमहानगरपालिका–७ दीपनगरस्थित सिद्देश्वर माविको प्रांगणमा आयोजित सभामा तयार गरिएको मञ्च र साउन्ड सिस्टममा मात्र लाखौं लगानी गरिएको थियो । फूल, ब्यानर, झन्डा र गमलाले मञ्च र अगाडिको भाग झकिझकाउ थियो । कार्यक्रम स्थलमा चारवटा मञ्च निर्माण गरिएको थियो ।
आकर्षक र खर्चिलो गरी सजाइएको मुख्य मञ्चमा प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझी, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं नेकपा ओली समूहका प्रदेश अध्यक्ष लीला गिरीलगायत थिए । अर्को मञ्च केन्द्र र प्रदेशका सांसददेखि केन्द्रीय र जिल्ला नेताले भरिभराउ थियो । पत्रकारका लागि झन्डै ५० जना अट्ने र मुख्य मञ्चको ठीकअगाडि कलाकारका लागि अर्को मञ्च थियो । मैदानको २० प्रतिशत भागमा त मञ्चमात्रै सजाइएको थियो ।