मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेलगत्तै नेपाली कांग्रेसका पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्यो । तर प्रतिनिधिसभा विघटन र चुनाव घोषणालाई हेर्ने नजर कांग्रेसभित्र थरिथरिका देखिएका छन् ।
कांग्रेस संसद विघटनविरुद्ध घोषित रूपमै आन्दोलनमा छ । तर कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनकै क्रममा सोमवार रुपन्देहीमा आयोजित विरोध कार्यक्रममा दिएको अभिव्यक्तिले कांग्रेस भित्र र राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस शुरू गरेको छ ।
तत्कालीन प्रतिनिधिसभाको दोस्रो ठूलो दल तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसद पुनःस्थापना चाहन्छ कि चुनाव ? देउवाले सार्वजनिक अभिव्यक्तिमा सर्वाेच्च अदालतले जे फैसला गर्छ, त्यो मान्ने बताउँदै आएका छन् । सँसगँगै उनले चुनावमा जोड दिँदै आएका छन् ।
रुपन्देहीको कार्यक्रममा देउवाले भने, ‘ओलीले वैशाखमा चुनाव गराउँछु भनेका छन् । निर्वाचन आयोगले किन भन्दैन ? निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भइसकेको छ । निर्वाचन आयोगले जनतालाई भन्नुपर्यो ६ महिनाभित्र चुनाव गराएरै छाड्छु । कार्यतालिका किन प्रकाशित गर्दैन ? दलहरूलाई किन चुनाव चिह्न दिँदैन निर्वाचन आयोगले ?
वरिष्ठ नेता रामचन्द्र पौडेलको धारणा भने छुट्टै छ । पौडेलले चुनावलाई भन्दा प्रतिनिधिसभा पुनःस्थापनालाई जोड दिँदै आएका छन् । आइतवार नेपाली कांग्रेस धादिङले आयोजना गरेको विरोध कार्यक्रममा नेता पौडेलले भने, ‘चुनाव गराएर स्थायित्व ल्याउँछु भन्नु केपी ओलीको दिवास्वप्न हो । स्थायी सरकार आफैं भत्काउने, जनताको सार्वभौम संसद्लाई आफ्नो स्वार्थको लागि विघटन गर्ने अनि स्थायित्वमा नारा दिनु राजनीतिक बेइमानी हो ।’
वरिष्ठ नेता रामचन्द्र पौडेल संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहसँग मिलेर संयुक्त आन्दोलन गर्नुपर्ने मत राख्छन् । तर देउवा र पौडेल पक्षकै महामन्त्री डा. शशांक कोइराला संयुक्त आन्दोलन गर्नै नहुने धारणा राख्छन् ।
नेपाल प्रेस युनियन दाङले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले भने, ‘संसद विघटनको विरोधमा हुने आन्दोलनमा कांग्रेसको कोही कसैसँग सहकार्य हुँदैन । त्यसमाथि अझ कम्युनिस्टसँग झनै सम्भव छैन । कांग्रेस विचार, सिद्धान्तमा सबैभन्दा शक्तिशाली पार्टी रहेकाले आन्दोलनका लागि कसैसँग सहकार्य गर्न जरुरी छैन ।’ कोइरालाले पार्टीभित्र संसद पुनःस्थापना वा चुनाव भन्ने विषयमा मतभेद नरहेको बताउँदै वैशाखमा चुनाव हुनै नसक्ने बताए ।
सभापति देउवालाई चुनावको हतारो भइरहेका बेला युवा नेता गगनकुमार थापा संसद पुनःस्थापना भएपछि मात्रै देश चुनावमा जाने तर्क गर्छन् । आइतवार चितवनमा आयोजित विरोध सभामा थापाले भने, ‘चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न जरुरी छैन । पुनःस्थापित संसदले देशलाई चुनावमा लैजान्छ । चुनावबाट जितेर आउने हो ।’
कांग्रेसमा नेतैपिच्छे फरक–फरक बोली सुनिन्छ । कतिपयले सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भित्रभित्रै ‘सेटिङ’ गरेको शंका गर्छन् । संवैधानिक आयोगका पदाधिकारी नियुक्त गर्दा कतिपय कांग्रेस निकट व्यक्ति समेत परेकाले शंका थप बढेको थियो ।
यस्तै शंका गर्छन् जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई । उनले मंगलवार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘ चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुःखद छ । चुनावमा त ढिलोछिटो जानैपर्छ । तर ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा जाँदा (भैहालेमा !) संविधान धरापमा पर्छ । संसद पुनःस्थापनापछि चुनावमा जाँदा दुवै हातमा लड्डु हुन्छ ! किन नबुझेको ? कि सेटिङ नै हो ?’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमवार ललितपुरमा आयोजित कार्यक्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग संयुक्त आन्दोलनका लागि केही पूर्वशर्त रहेको र उनीहरूले विगतमा गरेका कामप्रति आत्मालोचना गर्नुुपर्ने तर्क राखे । तर देउवाबाहेक सो समूहका नेताहरू चुनावको बारेमा खुलेर बोलेका छैनन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथिको बहस अन्तिम चरणमा पुगेको तथा केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा देउवाले सोमवार दिएको अभिव्यक्तिले कांग्रेस चुनावको लागि तयार भएजस्तो देखिन्छ । फागुन ५ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकपछि कांग्रेसले संस्थागत रूपमै चुनावको लाइन लिन्छ कि यस्तै दुईथरि कुरा गर्छ कांग्रेस कार्यकर्ताले कौतुहलतापूर्वक हेरिरहेका छन् ।