राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेशप्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि उनले आफूले कुनै गल्ती नगरेको प्रतिक्रिया दिएका छन् । परियारले आफ्नो स्वकीय अधिकृतले गरेको गल्तीको सजाय आफूले भोगेको भन्दै टिप्पणी गरे ।

परियार पदमुक्त हुँदा उनले स्वास्थ्यसम्बन्धी विधेयक अध्ययन गरिरहेका थिए । राष्ट्रपति कार्यालयबाट विज्ञप्ति जारी भएको १ घण्टापछि मात्र उनले आफू पदमुक्त भएको थाहा पाएका थिए

परियारले  भने, ‘संविधान, सरकार वा प्रधानमन्त्रीविपरित अहिलेसम्म मैले केही बोलेको छैन, केही लेखेको पनि छैन । न कतै कुनै भाषणमा वक्तव्यबाजी गरेको छु । मेरो स्वकीय अधिकृतले कहीं कुनै गल्ती गरेको छ वा केही बोलेको छ भन्ने कुराको मात्र आधार बनाएर पदमुक्त त गर्नु भएन नि !’

केही दिनअघि प्रधानमन्त्री ओलीनिकट रहेका नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र परियारका स्वकीय सचिव अनिल पासवानबीच फोनमा विवाद तथा धाकधम्कीसहित गालीगलौज भएको फोनवार्ता सार्वजनिक भएको थियो । सोही प्रसंगलाई लिएर प्रधानमन्त्री ओलीले आफूलाई पदमुक्त गरिएको हुन सक्ने आशंका परियारले गरेका छन् ।

प्रदेश प्रमुखको कार्यकक्षमा बसेर स्वास्थ्य सेवासम्बन्धी विधेयकको अध्ययन गरिरहेका बेला उनलाई पदमुक्त भएको खबर आएको थियो । राष्ट्रपति कार्यालयबाट शुक्रवार ४ बजे पदमुक्त गरिएको भन्दै उनलाई इमेल गएको थियो ।

‘म आफ्नो कार्यकक्षमा प्रदेश सभाबाट आएको स्वास्थ्य सेवासम्बन्धी विधेयक अध्ययन गर्दैगर्दा विभिन्न मानिसले फोन गरेर के तपाईं पदमुक्त भएको हो भनेर सोध्न थालेपछि म आश्चर्यचकित भएँ,’ उनले भने, ‘त्यसपछि मैले पनि केही समाचारहरूमा आफ्नोबारे समाचार पढें । त्यसपछि मलाई इमेल आयो ।’

फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री लालाबाबु राउत नेतृत्वको प्रदेश सरकारले मधेश भवनमा आयोजना गरेको कार्यक्रममा परियारले सम्बोधन समेत गरेका थिए ।

यसअघि सरकारले सातवटै प्रदेशका प्रदेश प्रमुखलाई एक साथ पदमुक्त गरेर परियारलाई प्रदेश २ को प्रदेश प्रमुख बनाएको थियो ।

२०७६ कात्तिक १८ गते प्रधानमन्त्री ओलीले त्यसअघिका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थलाई पदमुक्त गर्दै परियारलाई नियुक्त गरेका थिए । कत्तिक १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई सपथ ग्रहण गराएकी थिइन् भने २० गते जनकपुर पुगेर उनले पदभार ग्रहण गरेका थिए ।

माओवादीको आन्दोलनमा लागेका परियारले जनयुद्धको समयमा दलित मुक्ति आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट रहेका परियारको घर भने बाँके कोहलपुर नगरपालिका वडा नम्बर १२ मा पर्छ । उनी अहिले पनि नेकपाको दलित मुक्ति संगठनका नेताका रूपमा चिनिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय