सरकारले लामो समयदेखि प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लागेको प्रतिबन्ध खोल्ने तयारी गरिरहेको छ ।

गृह मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार अब छिट्टै मन्त्रिपरिषद बैठक बसेर विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने तयारी रहेको छ ।

यसअघि विभिन्न चरणका वार्ताहरू भइसकेका छन्,’ गृह मन्त्रालय स्रोतले  भन्यो, ‘त्यसैको नतिजास्वरूप विप्लव समूहले विज्ञप्ति निकालेको हो । वार्तामा बस्न तयार छौं भनेर उहाँहरूले विज्ञप्ति निकाल्नुभएको छ । अब सरकारले प्रतिबन्ध हटाएर वार्ताका लागि वातावरण बनाउँछ ।’

विप्लवको हस्ताक्षरमा शनिवार अपराह्न एउटा विज्ञप्ति जारी भएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो । यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।’

दुवै पक्षबीच यसअघि भएको वार्तामा सबैभन्दा पहिला विप्लव समूहले विज्ञप्ति निकालेर ‘सरकारसँग वार्ता गर्दैछौं’ भनेर सन्देश दिनुपर्ने माग सरकारी पक्षले राखेको थियो ।

सरकारको मागअनुसार नै विप्लव पक्षले आफूहरू वार्तामा आउन तयार रहेको भन्दै विज्ञप्ति निकालेका हुन् । २ वर्षअघि २०७५ सालको फागुन २८ गते सरकारले विप्लव समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

प्रतिनिधिसभा विघटनपछिको स्थितिमा रक्षात्मक बन्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले मूलधारमा नरहेका राजनीतिक शक्तिहरूसँग सम्बन्ध बढाउँदै लैजान खोजेका छन् ।

यही क्रममा हिरासतमा रहेका केन्द्रीय सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई भेट्न खानेपानी मन्त्री मणि थापा केही दिनअघि हिरासतमै पुगेका थिए । गत पुस २९ गिरफ्तारीमा परेका अर्का सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पनि हिरासतमै छन्

हिरासतमा रहेका दुवै नेतामार्फत विप्लवसँग अनौपचारिक वार्ताको शुरूआत भएको विभिन्न स्रोतहरूको दाबी छ ।

वार्ताका लागि सबैभन्दा पहिला प्रतिबन्ध फुकुवा गर्नुपर्ने विप्लवको माग थियो । त्यसका लागि विज्ञप्तिमार्फत नै भएपनि वातावरण तयार गरिदिन सरकारले विप्लवलाई गरेको आग्रह बमोजिम शनिवार विज्ञप्ति जारी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय