बिज्ञान भण्डारी । मंसिर१८
सुदूर भन्नासाथ धेरैले सुन्दर पाराले सजाउँछन्—
साँस्कृतिक रूपमा धनी, प्रकृतिले भरिपूर्ण, परम्पराको सुगन्धले महकिएको ठाउँ।
हो, सुदूर सुन्दर छ, तर सुन्दरताले मात्रै सम्पूर्ण कथालाई समेट्दैन।
यो ठाउँमा एउटा सत्य पनि छ—छाउपडी।
महिनावारीका नाममा गोठको अँध्यारो कुनामा थुनिएको पहिचान।
सुदूरको परिभाषा नै यसले निर्धारण गरिदिएको छ मानौँ।
एक पटक, एउटा साथीले मलाइ गिजाएजस्तरी सोध्यो —
“तिमीहरूको उता महिनावारी हुँदा गोठमा राख्छन् रे, हैन?”
त्यति बेलासम्म बोलिरहेको म, एक्कासी मौन भएँ।
उत्तर दिन सकिनँ कि दिन चाहिनँ, आजसम्म पनि बुझ्दिनँ।
तर त्यो प्रश्नले मेरो सुदूरलाई उसकै भाषामा परिभाषित गरिदियो—
के हामी यति मात्रै हौँ?
सम्झिन्छु— केही वर्ष अघि, हाम्रो गाउँमा ठूलो अभियान चल्यो।
“गोठ भत्काउँ” भन्ने नामले गाउँभरि उथलपुथल ल्यायो।
जसलाई म आदर्श ठान्थेँ, तिनै मान्छेहरू हातैमा हात हालेको देखेँ।
एक महिना सम्म ब्यानर, गाडी, भाषण, ताली—सबै गुञ्जिन्थ्यो।
गोठ भत्किए, मानौँ बुढो परम्पराले आत्मसमर्पण गर्यो।

तर समय बित्यो, र फेरि देखिए उही काठ, उही ढोका, उही छाप्रो—
गोठ फेरी उभिइरहेका थिए।
मानौँ त्यो अभियान नाटक थियो, र परिवर्तन केवल भाषणमै सीमित।
गोठ–मुक्त समाज त घोषणामा लेखियो,
तर व्यवहारको ढोका अझै उही बन्द छ।
कागजमा परिवर्तन धेरै भइसके,
मनमा बसेको गोठ भने अझै अडान छ।
गोठमा थुनेर बसाइएको महिलालाई सर्पले टोकेर मृत्यु भएको समाचार हामी पटक–पटक सुन्छौँ।
कहिलेकाहीँ त अँध्यारोमा डरले थरथर काँपिरहेकी युवती बलात्कृत भएको कथाले मन रुन्छ।
यी घटनाहरू एक–दुई मात्र छैनन्, गिन्तीका खबर मात्र सार्वजनिक हुन्छन्, तर साहसहीन पीडाहरू गोठकै काठसंगै चिप्लिएर लुक्छन्।
उनीहरूलाई महिनावारीको नाममा
घरभित्र छिर्न दिइँदैन,
जीवनभर सँगै बस्ने परिवारले नै
अछुतझैँ छुट्याइदिन्छ।
यस्ता कु–प्रथाले जन्माउने चोट केवल शरीरमा छैन,
यो त पीढी–दरपीढी झिरझिर पोलिने आत्मिक घाउ हो,
जसलाई मान्छेहरू आफ्नो परम्परा भनेर बचाउन खोज्छन्, तर पीडितहरूले जीवनभर बिर्सन सक्दैनन्।
गोठ भत्किए पनि,
त्यहाँ मरेका सपनाहरू कसरी भत्काउने?
अँध्यारोमा रोएको आवाज कसरी भुलाउने?
र परम्परा भनिएको हिंसाको पहाड कसरी ढाल्ने?
मान्छेले घर कोठा बदल्न सक्छ,
तर सोच बदल्न सकेन भने—
प्रथा बदलिँदैन, केवल रूप बदलिन्छ।
त्यसपछि बुझें—
गोठ त भत्काउन सजिलो रहेछ,
तर गोठ जन्माउने सोच भत्काउन अझै धेरै बाँकी छ।
परिवर्तन अरूले होइन,
आफैंबाट सुरु गरौँ,
असम्भव केही छैन—
इच्छा जगाउ भित्ताभरिका गोठहरू
मनभित्रैबाट भत्काइदिऔँ।
आज एक सोच बदलियो भने,
भोलि हजार सपनाले उज्यालो पाउँने छन्।




