
निर्मल राजा
२०८३ असार १३,
जीवन बिकास ,युनिक नेपाल र मानुषी लघुवित्त वित्तीय संस्था लि. को विशेष साधारणसभाले मर्जर सम्बन्धी ऐतिहासिक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
बुधबार माेरङकाे कटहरी स्थित संस्थाकाे केन्द्रीय कार्यालय रहेकाे जीवन विकास लघुबित्त बित्तीय संस्था लि मा सम्पन्न बिशेष साधारण सभाले अध्यक्ष बिक्रम राज सुवेदी ,
बाँकेको काेहलपुर स्थित संस्थाको केन्द्रीय कार्यालय रहेकाे युनिक नेपालका अध्यक्ष शिव बहादुर चाैधरी र काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष पधमसना शाक्य द्वारा प्रस्तुत मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गरिएकाे हाे ।
यो सम्झौता लघुवित्त क्षेत्रमा भएको हालसम्मकै ठूलो सम्झौता हो ।

सोही सम्झौतालाई अनुमोदनका लागि जीवन विकास, युनिक नेपाल र मानुषी लघुबित्तले विशेष साधारणसभा आह्वान गरेको थियो
तीन वटै लघुबित्तकाे विशेष साधारणसभाले संस्थाको नाम जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ र केन्द्रीय कार्यालय मोरङको कटहरी गाउँपालिका–२ मै रहने प्रस्ताव पनि पारित गरेको छ ।
मर्जरपछि युनिक नेपाल र मानुषी लघुवित्तको हालको केन्द्रीय कार्यालयलाई प्रादेशिक कार्यालयको रूपमा रूपान्तरण गरिनेछ ।
मर्जरपछि संस्थाको नेतृत्व जीवन विकास लघुवित्तका वर्तमान प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ ।
साधारणसभाले मर्जरका लागि सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन र हालसम्मका सम्पूर्ण कामकारबाहीलाई अनुमोदन गरेको छ । साधारणसभाले भविष्यमा अन्य लघुवित्तहरूसँग पनि मर्जर वा प्राप्तिको प्रक्रिया अघि बढाउन सक्ने गरी समितिलाई विशेष अधिकार प्रदान गरेको छ ।
हाल जीवन विकासको चुक्ता पुँजी १ अर्ब ७५ करोड १२ लाख ३२ हजार, युनिक नेपालको १४ करोड ८५ लाख ७५ हजार र मानुषी लघुवित्तको १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । मर्जर पश्चात् संस्थाको कुल चुक्ता पुँजी १ अर्ब ९८ करोड ८४ लाख ४ हजार ३१२ रुपैयाँ पुग्नेछ ।
एकीकृत कारोबारपछि संस्थाको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार हुनेछ । ६ वटा प्रदेशमा गरी संस्थाको शाखा संख्या २३३ पुग्ने छ ।
जीवन विकासले हाल ३१ जिल्लामा लघुवित्त सेवा प्रवाह गरिरहेको छ त्यस्तै युनिक नेपालले ६ जिल्ला र मानुषीले १४ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको छ ।
मर्चर सम्बन्धित सम्पूर्ण प्रक्रिया पूरा गरी २०८३ साल असार मसान्तभित्रै एकीकृत कारोबार सुरु गर्ने तयारी छ ।
गत चैत २८ गते जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने सम्झाैता भएकाे थियाे ।




