
नेकपा प्रचण्ड-नेपाल पक्षबाट सत्ता सहकार्यको प्रस्ताव पाएका कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरूले नेकपाको झगडालाई ध्यानपूर्वक हेरिरहेको बताएका छन् ।
नेकपा हालसम्म नफुटेको र उनीहरू फेरि मिलेमा के हुन्छ भन्ने कुरामा कांग्रेसको ध्यान रहनुपर्ने उनले बताए ।
नेपाली कांग्रेसका तराई-मधेशका प्रभावशाली नेता स्वर्गीय महेन्द्रनारायण निधिको जन्मजयन्तीको अवसरमा बुधवार राजधानीमा आयोजित कार्यक्रममा देउवाले भने–
‘सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनर्स्थापित गरेपछि अब नेकपाको झगडा के हुने हो? उहाँहरू अहिलेसम्म पनि चुनाव चिह्नको झगडामा लाग्नुभएको छ । नेकपा अहिलेसम्म फुटेको छैन । उहाँहरू मिल्नुभयो भने के हुन्छ ? त्यो कुरातर्फ पनि कांग्रेसले ध्यान दिनुपर्छ ।’
उनले थपे– ‘सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गरिसकेपछि प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याउनुहोला, तर ओलीले त्यतिकै छोडिदिनुभयो भने त्यो प्रस्ताव नआउन पनि सक्छ ।’
प्रधानमन्त्रीले शान्तिपूर्ण तबरले सत्ता हस्तान्तरण गर्नुपर्ने देउवाले बताए । आफूहरू पुन: प्रतिपक्षमा रहनुपरे पनि सशक्त भूमिका खेल्ने उनको भनाइ थियो ।
‘संसद्मा नेपाली कांग्रेससँग यति कम सिट छ कि हामी न त पक्ष नै हुन सक्छौं, न त विपक्ष नै,’ देउवाले भने, ‘तर संसद्मा अब यदि विपक्षमै बस्नुपर्ने भयो भने पनि सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।’
शुरूमै स्टे अर्डर जारी नगरेकाले शंका भएपनि अहिले सर्वोच्चले गरेको फैसला लोकतन्त्रको पक्षमा रहेको देउवाले बताए ।
अदालतले लोकतन्त्र, जनता र न्यायको पक्षमा फैसला गरेको पनि उनले बताए । उनले आफ्नै पार्टीमा पुरानो झगडा रहेको बताए ।
‘नेकपाको झगडा जस्तै हाम्रो पार्टीमा समेत झगडाको धेरै पुरानो रोग छ । अब के गर्ने, कसरी अगाडि बढ्ने भन्ने कुराका लागि पार्टीको बैठक बसेर निर्णय गर्नेछौं,’ देउवाले भने ।