काठमाडौं । गायिका एवं राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् । केहीदिन अघि पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको टिप्पणीलाई लिएर वलीले मंगलबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । उनले मुलुकी अपराध संहिता २०७४ को दफा ३०५, ३०६, ३०७ को आधारमा आफूलाई अन्याय परेको भन्दै मुद्दा दायर गरेकी हुन् ।
पन्तले फागुन १५ गते एक कार्यक्रममा ‘हाम्रो पार्टीमा २० औं वर्षदेखि विवाह नै नगरी महिलाहरु लागेका छन्, केपीको पार्टीमा पनि त्यस्ता महिला छन् । तर तिनले टिकट पनि पाएनन् । कोमल वलीले यसो सारी सरक्क सर्काएर गोडा, पिडौँला देखाएर पोइल जान पाम भनेपछि सांसद त तिनै भइन्’ भनेका थिए ।राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो,’ वलीले आफ्नो उजुरीमा भनेकी छन् ।





