हिक्मत बहादुर नेपाली
कमलबजार बैशाख २७।
अछामको कमलबजार नगरपालिका–३ मा पर्ने बेलखेतमा मलामीका लागि विश्राम घर(पक्की प्रतिक्षालय) निर्माण कार्य सम्पन्न भए पश्चात् आज एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । अछाम जिल्लास्थित नेपाली सेनाको गोरख बक्स गणले अछाम र दैलेख जिल्लाको सिमानामा गर्ने बेलखेतमा मलामी विश्राम घर निर्माण कार्य सम्पन्न भए पश्चात् हस्तान्तरण गरिएको हो ।
गणपति जनक सिलवालले नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत स्थानीयको आवश्यकताअनुसार विश्राम घर निर्माण गरिएको जानकारी दिनु भयो ।
नेपाली सेना र नागरिकबीच सुमधुरसम्बन्ध स्थापना गर्ने उद्देश्यले रु सात लाख ५० हजारमा विश्राम घरसँगै पक्की कम्पाउण्ड, आधुनिक शौचालय र पिपल चौतारी निर्माण गरिएको र कमलबजार नगरपालिकाले यश अघि उद्घोषण गरेको ७ लाख ५० हजार बराबरको निर्माण सामग्रीका साथै थप ५लाख ५० हजार गरि जम्मा २० लाख ५० हजारमा निर्माण कार्य सम्पन्न भएको नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताउनु भयो ।
विश्राम घरबाट कमलबजार नगरपालिकाका ६ वडा र पञ्चदेवल विनायक नगरपालिकाका चार वडाका नागरिक लाभान्वित हुने कमलबजार नगरप्रमुख ढकालले बताउनु भयो । हाल मलामी विश्राम घर निर्माण गरिएको र निकट भविष्यमा घरको दोस्रो तला थपेर किरियापुत्री भवनका रूपमा विकास ढकालको भनाइ छ ।
नगरपालिकालाई भवन हस्तान्तरण गर्न आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले नेपाली सेनाले स्थानीय नागरिकसँग समन्वयगरी विश्राम घर निर्माण गरेकामा धन्यावन दिनुभयो ।
कार्यक्रमको प्रमुख अथितीको आशन बाट बोल्दै जिल्ला समन्वय समितिका अध्यक्ष ललित बहादुर कुँवरले घर निर्माण भएपछि वर्षात र रातको समयमा मलामीलाई बस्न सजिलो हुने बताउनु भएको थियो ।





