हिक्मत बहादुर नेपाली
अछाम, कार्तिक २१ । अछामको मङ्गलसेन दरबारको झ्यालमा राखेको सिसा प्रयोग गरिएको छ। ऐतिहासिक तथा सांस्कृतिक दरबारमा सिसा राखिएपछि हटाउन मङ्गलसेन नगरपालिकाले अनुरोध गरेको छ । पुरानै संरचनामा निर्माण भइरहेको दरबारको झ्यालमा सिसा लगाएकाले दरबारको ऐतिहासिक तथा सांस्कृतिक झल्को मेटिने भएकाले सिसा हटाउन पत्र पठाएका हो। दरबारको झ्यालमा लगाइएका सिसा हटाएर पुरानै शैलीमा काठको प्रयोग गर्न अनुरोध गरिएको छ । पुरानै शैलीमा निर्माण भइरहेको दरबार पर्यटकीय रूपमा हेरिएकाले सिसा प्रयोगविरुद्ध स्थानीयको माग र दबाब भएकाले सहरी विकास तथा भवन निर्माण विभागलाई लेखिएको नगरका उपप्रमुख सङ्गीता रावल सोडारीले बताउनु भयो । सिसा प्रयोगले दरबारको स्वरूप नै भद्दा भएको दरबार अवलोकन गर्नेको भनाइ आइरहेको बताइएको छ । २०६७ सालमा निर्माण पूरा हुने गरी २०६५ मा ठेक्का भएर निर्माणका क्रममा रहेको मङ्गलसेन दरबारलाई प्रदेशस्तरकै सङ्ग्रहालय बनाउनु पर्ने माग बढेको छ। ऐतिहासिक र सांस्कृतिक रूपमा ठुलो सङ्ग्रहालयका रूपमा सुदूरपश्चिम प्रदेश सरकारले सङ्ग्रहालय बनाउन स्थानीयको माग छ। अछामी राजाका पालामा करिब दुई सय वर्षअघि निर्माण गरिएको भनिएको सो दरबार २०५८ फागुन ४ गते राति तत्कालीन नेकपा (माओवादी) ले सदरमुकाम आक्रमणका क्रममा ध्वस्त भएको थियो। १४ वर्षसम्म दरबारको काम पूरा भएको छैन।
ADVERTISEMENT