
अछाम। नेपाल पत्रकार महासंघको चैत २५ गते हुने निर्वाचनका लागि सुदूरपश्चिम प्रदेश अध्यक्षमा योगेश रावलले उम्मेदवारी दिएका छन् । नेपाल प्रेस युनियनसहितका ११ पत्रकार संगठनहरुको समर्थनमा प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका रावल वर्तमान सुदूरपश्चिम कार्य समितिका महासचिव हुन् ।
करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय रावलले सहस्राब्दी साप्ताहिक बाट पत्रकारिता यात्रा सुरु गरेका थिए । युगयान साप्ताहिक, हाम्रो जन सन्देश साप्ताहिक, टीकापुर टाइम्स, अनुमोदन, सेती समाचार, पश्चिम टुडे दैनिक, रेडियो पश्चिम टुडे, काठमाडौंबाट प्रकाशित राजधानी दैनिक, सगरमाथा टेलिभिजन, सेतोपाटी डटकमको सम्वाददाता रहेका रावल हाल नागरिक दैनिकको सम्वाददाता र हाम्रोपत्र डट कमको प्रधान सम्पादक छन् ।
समाजका विकृतिविरुद्ध अक्षरबाट आवाज बुलन्द गर्न सकिन्छ र सामाज रुपान्तरणमा योगदान गर्न सकिन्छ भनेर कलम चलाइरहेका रावल शाही शासनकालमा समाचार लेखेको आरोपमा थुनामा परेका थिए ।
व्यवसायिक, मर्यादित र सामाजिक उत्तरदायित्व सहितको पत्रकारिताका माध्यमबाट श्रमजीवी पत्रकारको हकहितका लागि सदैव लागि पर्ने रावल सुदूर पश्चिमका ९ वटै जिल्लामा रहेका पत्रकारका सुखदुःखमा साक्षात्कार गर्दै आएका छन् ।
प्रेस स्वतन्त्रताका लागि कसैसँग सम्झौता गर्नु हुँदैन भन्दै चट्टानी अडान राख्ने रावलले मोफसलका पत्रकारले भोग्नुपरेका समस्याहरुलाई समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।