नागरिककाे नगरलाइ निवेदन
श्री नगर प्रमुखज्यू, श्री नगर उपप्रमुखज्यू, श्री प्रमुख प्रशासकीय अधिकृतज्यू, श्री सम्पूर्ण वडा अध्यक्ष ज्यु कमलबजार नगरकार्यपालिकाको कार्यालय, कमलबजार, अछाम।
विषय: कानुनी प्रक्रिया विपरीत “श्री मेल्जडा बण्डाली” पवित्र भूमि क्षेत्रमा अगाडि बढाइएको डम्पिङ साइट निर्माण कार्य तत्काल रोकी निर्णय बदर गर्ने सम्बन्धमा।
महोदय,
कमलबजार नगरपालिका वडा नं. ९ अन्तर्गत पर्ने अत्यन्तै संवेदनशील एवं पवित्र भूमि श्री मेल्जडा बण्डाली क्षेत्रमा नगरपालिकाभरिको फोहोरमैला विसर्जन र व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण तथा सञ्चालन गर्ने तयारी भइरहेको विषयप्रति कमलबजार नगरपालिका वडा नं. ७, ८ र ९ का स्थानीय बासिन्दा, युवा, बुद्धिजीवी तथा सकेत नागरिकहरूको गम्भीर आपत्ति, आक्रोश र असहमति रहँदै आएको छ। वि.सं. २०८० सालमा स्थानीय आम नागरिकको बृहत् सहभागिता र सहमति विना, केही सीमित व्यक्तिहरूको उपस्थितिमा जग्गा उपलब्ध गराउने र रोजगारी दिने प्रलोभनका सर्तहरू राखी गरिएको भनिएको आन्तरिक सहमति पूर्णतः अपारदर्शी, कपटपूर्ण र गैरकानुनी छ। सार्वजनिक सरोकार र जनस्वास्थ्य जस्तो गम्भीर विषयमा प्रभावित क्षेत्रका नागरिकसँग पर्याप्त छलफल र कानुनी प्रक्रिया पूरा नगरी बलमिच्याइँका आधारमा कार्य अगाडि बढाउन खोजिएकाले यो उच्च कानुनी निवेदन पेश गरेका छौं हाम्रा मुख्य कानुनी र वस्तुगत जिकिरहरू देहाय बमोजिम छन्, धार्मिक र वातावरणीय संवेदनशीलता: प्रस्तावित क्षेत्र “श्री मेल्जडा बण्डाली” हाम्रो आस्थाको धरोहर र इतिहास बोकेको परम पवित्र धार्मिक भूमि हो। यस पवित्र भूमिको ठीक वरिपरि जाडु, चँखेली, पालेबन, घेगड, बजगाउँ, ढाँकु र सेरा जस्ता घना मानव बस्ती , प्राकृतिक वन क्षेत्र र खुला चरन क्षेत्र अवस्थित छन्। यस्तो देवभूमि र गहिरो सामाजिक आस्था जोडिएको क्षेत्रमा सिंगो नगरको फोहोर फालेर यसको पवित्रता नष्ट गर्ने र दुर्गन्ध फैलाउने कार्य सह्य हुन सक्दैन। पानीका मुहान र जनस्वास्थ्यमा संकट: यसै पवित्र भूमि र वन क्षेत्रको आसपासमा स्थानीय गाउँहरूले उपभोग गर्दै आएका खानेपानीका मुख्य मुहानहरू रहेका छन्। यहाँ डम्पिङ साइट बनाउँदा निस्कने हानिकारक रसायन (Leachate) भूगर्भमा रसिएर खानेपानीका मुहानहरू सदाका लागि विषाक्त हुने र वरिपरिका गाउँहरूमा दीर्घकालीन महामारीको संकट निम्तिने निश्चित छ। संवैधानिक हकको ठाडो उल्लङ्घन: नेपालको संविधानको धारा ३० (१) ले प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ। पवित्र धार्मिक स्थलको मानमर्दन हुने गरी र नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्ने अधिकार स्थानीय सरकारलाई छैन। वातावरण संरक्षण ऐन, २०७६ को उल्लङ्घन: उक्त ऐनको दफा ३ र ४ बमोजिम कुनै पनि डम्पिङ साइट निर्माण गर्नुपूर्व प्रारम्भिक वातावरणीय परीक्षण (IEE) वा वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) को अध्ययन प्रतिवेदन स्वीकृत गराउनु र प्रभावित क्षेत्रमा अनिवार्य “सार्वजनिक सुनुवाइ” गर्नु कानुनी बाध्यता हो। नगरपालिकाले यो कानुनी प्रक्रिया पूर्णतः उपेक्षा गरेको छ। हामी विकास वा फोहोर व्यवस्थापनका विरोधी होइनौँ। तर, कसैको व्यक्तिगत स्वार्थका लागि एउटा पवित्र देवभूमि, सिंगो क्षेत्रको पर्यावरण, जनस्वास्थ्य र भावी पुस्ताको भविष्यलाई नै संकटमा पार्ने निर्णय हामीलाई किमार्थ स्वीकार्य छैन। अतः कमलबजार नगरकार्यपालिका समक्ष देहाय बमोजिमको उच्च माग गर्दछौँ: १. श्री मेल्जडा बण्डाली पवित्र भूमि क्षेत्रमा बनाइएको डम्पिङ साइट निर्माण सम्बन्धी सम्पूर्ण प्रक्रियाहरू तत्काल स्थगन र खारेज गरियोस्। २. वन क्षेत्र, पानीका मुहान, धार्मिक स्थल र वरिपरिका गाउँहरूलाई प्रत्यक्ष असर नपर्ने गरी वैज्ञानिक प्रविधियुक्त र वैकल्पिक उपयुक्त स्थानको खोजी गरियोस्। ३. स्थानीय समुदायको पूर्ण सहमति, सहभागिता र सामाजिक सम्झौता विना उक्त क्षेत्रमा कुनै पनि कार्य अगाडि नबढाइयोस्। चेतावनी सहितको सूचना: यो निवेदन दर्ता भएको मितिले ७ (सात) दिनभित्र यस सम्बन्धमा कार्यपालिकाले सकारात्मक निर्णय गरी काम नरोकेमा, हामी स्थानीय नागरिकहरू आफ्नो धार्मिक आस्था, थातथलो र स्वास्थ्य रक्षाका लागि नगरपालिका विरुद्ध कानुनी प्रकृया र चरणबद्ध रूपमा सशक्त आन्दोलनमा उत्रिन बाध्य हुनेछौँ। त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार स्वयं कमलबजार नगरपालिका हुनेछ।
निवेदक
ध्यानाकर्षण गराउने: कमलबजार नगरपालिका वडा नं. ७, ८ र ९ का स्थानीय बासिन्दा, युवा, बुद्धिजीवी तथा सचेत नागरिक समाज।




