३० जेठ, धनगढी
नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । आइतबार बस्ने प्रदेशसभा बैठकमा अनिवार्य उपस्थित भएर प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न संसदीय दलका नेता प्रकाशबहादुर शाहले ह्वीप जारी गरेका हुन् ।
प्रमुख सचेतक दुर्गाकुमारी कामीले दलका नेता शाहको निर्देशनअनुसार एमालेका २४ जना प्रदेशसभा सदस्यहरुलाई एसएमएस गर्दै नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी भएको जानकारी गराएकी छन् । तर एमाले संसदीय दलले गरेको ह्वीप पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षीय प्रदेशसभा सदस्यहरुले नमान्ने भएका छन् ।केन्द्रीय कमिटीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकाले नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने प्रदेशसभा सदस्य लिलाधर भट्टले अनलाइनखबरलाई बताए । भट्टले केन्द्रीय कमिटीको निर्णयअनुसार नै संसदीय दलले निर्णय लिनुपर्ने पक्षमा आफूहरु रहेकाले विपक्षमा मतदान गर्ने तर प्रदेशसभामा कुनै पनि खालका अराजक गतिविधि नगर्ने बताए । प्रदेशसभामा एमालेको ओली पक्षका ७ जना सांसद रहेका छन् ।
गत बिहीबार प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आइतबार दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकबाट पारित गर्ने कार्यसूची छ । ओली पक्षीय प्रदेशसभा सदस्य केन्द्रीय कमिटीको समर्थन फिर्ता लिने निर्णयअनुसार सरकारको विपक्षमा छन् भने माधव पक्षीय सांसदले माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई सघाइरहेका छन् ।
१० जेठमा बसेको एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर १२ जेठमा बसेको माधव पक्षको बहुमत रहेको प्रदेश संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
लगत्तै मुख्यमन्त्री भट्टले एमालेका तीन मन्त्रीलाई राजीनामा गराएर चार जना मन्त्री र तीन जना राज्यमन्त्री थपेका थिए । २५ जेठमा माधव पक्षका १७ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिंदै मुख्यमन्त्री भट्टको पद जोगाएका थिए भने ओली पक्षका ७ र जसपाका २ जना गरेर ९ जनाले विपक्षमा मतदान गरेका थिए । कांग्रेसका १२ जना प्रदेशसभा सदस्यहरु भने तटस्थ बसेका थिए । copy online khabar