खगेन्द्र उपाध्याय
अछाम बैशाख ४ । वडा स्तरीय बाल संजालको आयोजना तथा वडा कार्यालयको समन्वय र आस्था नेपालको सहजीकरणमा पन्चदेवल बिनायक नगरपालिका वडा नं २ बिनायकमा वडा स्तरीय बालभेला सम्पन्न भएको छ। स्थानिय समुदायमा रहेका बालबालिकाका सवालहरूको पहिचान गरि प्राथमिकीकरण गर्ने र ती सवालहरूको न्युनिकरणका लागि कार्य योजना निर्माण गर्ने, बालबालिकाहरूलाई मन पर्ने र मन नपर्ने क्रियाकलापहरको बिषयमा समूह कार्य गरि प्रस्तुतीकरण गर्ने, बालबालिका माथी हुन सक्ने हिंसा, शोषण , दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित र असुरक्षित स्थानको पहिचान गर्ने र बालबालिकाले चाहेको भावी असल समाजको परिकल्पना सहितको क्रियाकलाप गर्ने उदेश्यले उक्त कार्यक्रम गरिएको थियो।
वडा स्तरीय बालसंजालका अध्यक्ष कमल न्यैपाने को अध्यक्षतामा भएको उक्त भेलामा वडाध्यक्ष कृपा बहादुर धामी सरस्वती माबी बिध्यालयका प्र अ वीर बहादुर चलाउने शिक्षिका निर्मला चलाउने आस्था नेपालका अनुगमन अधिकृत हर्क खड्का लगायतको उपस्थिती रहेको थियो।
भेलाले समुदायमा रहेका बालबालिका सवालहरू पहिचान गरि , प्राथमिकीकरण गरेको छ र त्यसैको आधारमा सवालहरू न्युनिकरण गरि असल समाज र बालसम्बृध्दि ल्याउने उदेश्यका साथ कार्य योजना निमाण गरेको छ र भेलाबाट निर्माण भएका कार्य योजनाहरू वडा सरकार मार्फत नगरपालिका र सम्बन्धित शाखामा पेश गर्ने निर्ण गरेको छ।
बाल संजालका सचिब करन बि क को स्वागत मन्तव्य बाट सुरू भएको उक्त कार्यक्रमको संचालन संजालकि उपाध्यक्ष मनिशा न्यैपाने ले गर्नु भएको थियो भने भेलाको सहजीकरण आस्था नेपाल अछामका दिल बहादुर शाही र खगेन्द्र उपाध्यायले गर्नु भएको थियो।