अछाम । तुर्माखाद गाउँपालिकाका तीनवटा माध्यमिक विद्यालयमा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। बालिकाको शिक्षा, समावेशिता तथा विद्यालयमा सुरक्षित र उत्तरदायी वातावरण निर्माण गर्ने उद्देश्यले गाउँपालिकाका विभिन्न विद्यालयमा सञ्जाल गठन गरिएको हो।
गाउँपालिका–८ धमालीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालय, वडा नं. ३ स्थित बसुन्धरा माध्यमिक विद्यालय र वडा नं. ४ तुर्माखादस्थित कालीकेश्वरी माध्यमिक विद्यालयमा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको हो।
सिद्धेश्वरी माध्यमिक विद्यालयमा नमराज धमालाको संयोजकत्वमा १९ सदस्यीय सञ्जाल गठन गरिएको छ। त्यस्तै, बसुन्धरा माध्यमिक विद्यालयमा भक्तबहादुर बुढाको संयोजकत्वमा १९ सदस्यीय सञ्जाल गठन गरिएको छ। कालीकेश्वरी माध्यमिक विद्यालयमा भने रोसना विकको संयोजकत्वमा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको हो।
नवनिर्वाचित तथा गठित सञ्जालका पदाधिकारी र सदस्यहरूलाई उनीहरूको काम, कर्तव्य, जिम्मेवारी तथा सञ्जालको भूमिकाबारे अभिमुखीकरण समेत प्रदान गरिएको छ। विद्यालयमा बालिका तथा सीमान्तकृत समूहका विद्यार्थीको सहभागिता बढाउने, उनीहरूका समस्या पहिचान गरी समाधानका लागि पहल गर्ने तथा समावेशी शैक्षिक वातावरण निर्माणमा सञ्जालले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
यसैगरी, विद्यार्थी तथा विद्यालय समुदायका गुनासा र समस्यालाई व्यवस्थित रूपमा सम्बोधन गर्न सम्बन्धित विद्यालयमा गुनासो सुनुवाइ समिति समेत गठन गरिएको छ। विद्यालयमा हुने विभेद, असमानता, हिंसा तथा अन्य समस्याबारे विद्यार्थीले सहज रूपमा आफ्ना कुरा राख्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले समिति गठन गरिएको बताइएको छ। कार्यक्रम युरोपियन युनियनको आर्थिक सहयोग, पिपुल इन निड (People in Need) को प्राविधिक सहयोग तथा नेपाल अपाङ्ग महिला संघ, शिक्षाका लागि राष्ट्रिय अभियान (NCE Nepal), Accountability Lab र वाक नेपाल अछामको साझेदारीमा सञ्चालन गरिएको हो।
बालिका तथा समावेशी शिक्षा सञ्जाल र गुनासो सुनुवाइ समितिको गठनसँगै विद्यालयमा सबै विद्यार्थीका आवाजलाई समान रूपमा सम्बोधन गर्दै सुरक्षित, समावेशी र बालमैत्री शैक्षिक वातावरण निर्माणमा थप टेवा पुग्ने विश्वास गरिएको छ।





