अछाम भाद्र २४ ।   कमलबजार नगरपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा स्वास्थ्य क्षेत्रमा भएका कार्यक्रम, उपलब्धि, प्रगति तथा चुनौतीहरूको समीक्षा गर्दै पालिका स्तरीय स्वास्थ्य वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।

कमलबजार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिकाको सभाहलमा सम्पन्न समीक्षा कार्यक्रम कमलबजार नगरपालिकाका कार्यवाहक नगर प्रमुख शारदा कुमारी बिष्टको अध्यक्षतामा सञ्चालन भएको हो। कार्यक्रममा वडा अध्यक्षहरू, स्वास्थ्य कार्यालय अछामकी प्रमुख सीमा थापा, निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर बिष्ट, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको आर्थिक साझेदारी Meeting Targets and Maintaining Epidemic Control (EpiC) परियोजनाले गरेको थियो। स्वास्थ्य क्षेत्रमा स्थानीय तहसँग सहकार्य गर्दै आएको EpiC परियोजनाको साझेदारीमा सम्पन्न समीक्षाले स्वास्थ्य कार्यक्रमको उपलब्धि, सेवा प्रवाहको अवस्था तथा आगामी कार्यदिशाबारे थप छलफल र समन्वयको अवसर प्रदान गरेको थियो।

कार्यक्रममा कमलबजार नगरपालिकामा कार्यरत सि.अ.हे.ब. टंकबहादुर भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने जनस्वास्थ्य निरीक्षक कबिराज ढकालले वार्षिक समीक्षा कार्यक्रमको उद्देश्य तथा अपेक्षित उपलब्धिबारे जानकारी गराउनुभएको थियो।

समीक्षा कार्यक्रममा नगरपालिकाअन्तर्गतका प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा सहरी आँखा केन्द्रले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रम, सेवा प्रवाह, उपलब्धि, असल अभ्यास तथा चुनौतीहरूबारे प्रस्तुतीकरण गरेका थिए। स्वास्थ्य संस्थाहरूले प्रस्तुत गरेका तथ्य तथा प्रगति विवरणमाथि सहभागीहरूबीच गहन छलफल गर्दै सेवा प्रवाहमा देखिएका समस्या र आगामी दिनमा सुधार गर्नुपर्ने विषय पहिचान गरिएको थियो।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा कमलबजार नगरपालिकासँग सहकार्य गर्दै आएका आस्था नेपाल र वाक नेपाललगायत विभिन्न संघ–संस्थाले समेत आफ्ना कार्यक्रम, उपलब्धि तथा स्वास्थ्य क्षेत्रमा गरेको योगदानबारे प्रस्तुतीकरण गरेका थिए। संघ–संस्थाका गतिविधिलाई स्थानीय स्वास्थ्य प्रणालीसँग थप प्रभावकारी रूपमा जोड्ने तथा समन्वय र सहकार्यलाई सुदृढ बनाउने विषयमा समेत छलफल भएको थियो।

कार्यक्रममा कमलबजार नगरपालिकाको समग्र स्वास्थ्य क्षेत्रको अवस्था, प्रमुख स्वास्थ्य सूचकहरूको प्रगति, कार्यक्रमगत उपलब्धि, समस्या तथा चुनौती र आगामी प्राथमिकताबारे जनस्वास्थ्य निरीक्षक टेकबहादुर बिष्टले समग्र प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले उपलब्ध स्वास्थ्य तथ्यांकका आधारमा स्वास्थ्य सेवाको वर्तमान अवस्था प्रस्तुत गर्दै कमजोर सूचकहरूको सुधार, सेवा पहुँच विस्तार, गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह तथा तथ्यमा आधारित आगामी योजना निर्माणमा जोड दिनुभएको थियो।

समीक्षाका क्रममा स्वास्थ्य संस्थाहरूले गरेका असल अभ्यास तथा सकारात्मक उपलब्धिलाई संस्थागत गर्दै चुनौतीका रूपमा देखिएका विषयलाई प्राथमिकताका आधारमा सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। साथै स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार, स्वास्थ्य संस्था, स्वास्थ्य कार्यालय तथा विकास साझेदार र गैरसरकारी संस्थाबीचको समन्वयलाई थप मजबुत बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। कार्यक्रमको सञ्चालन सि.अ.न.मी. पार्वती कुमारी बि.सी. चलाउनेले गर्नुभएको थियो।

वार्षिक समीक्षा कार्यक्रमले आर्थिक वर्ष २०८२/०८३ मा कमलबजार नगरपालिकाको स्वास्थ्य क्षेत्रमा हासिल भएका उपलब्धिको समीक्षा गर्नुका साथै विद्यमान चुनौती पहिचान गरी आगामी दिनमा स्वास्थ्य सेवा अझ गुणस्तरीय, प्रभावकारी, पहुँचयोग्य र जनमुखी बनाउने आधार तयार गरेको आयोजकले जनाएको छ।

स्थानीय तहमा स्वास्थ्य क्षेत्रको प्रगति, कमजोरी र आगामी प्राथमिकतामाथि सबै सरोकारवालाको साझा छलफलमार्फत समीक्षा गर्ने अभ्यासले स्वास्थ्य कार्यक्रमलाई तथ्यमा आधारित, परिणाममुखी र जवाफदेही बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय