काठमाडौं, ९ पुस । नेपालकी नम्बर एक टेनिस खेलाडी अभिलासा विष्टले आइटिएफ वुमन्स विश्व टेनिस टुरको छनोट खेल्दै इतिहास रचेकी छिन्। अभिलासाले भारतको डब्लू ४० नाभी मुम्बईको छनोट खेलेकी हुन्। अभिलासाले भारतकी लालित्या कल्लुरीसँग पहिलो चरणमा प्रतिस्पर्धा गरेकी थिइन्। पहिलो सेट ४(६ अंकले गुमाएकी अभिलासाले दोस्रो सेटमा भारतीय खेलाडीलाई कडा टक्कर दिएकी थिइन्। टाइब्रेकरमा पुगेको सेटमा अभिलासाले ६-७ ९५० ले पराजित भइन्।
‘यसअघि खेलेका प्रतियोगिताबाट बटुलेको अंकबाट आधारबाट अभिलासाले आइटिएफ वुमन्स टुरको छनोट खेल्ने अवसर पाएकी हुन्,’ अभिलासाकी बुबा अजय विष्टले भने, ‘आइटिएफ वुमन्स विश्व टेनिस टुरको डब्लू ४० नाभी मुम्बईमा सहभागी खेलाडीको देशहरूको झण्डा नेपालको पनि थियो। त्यो निकै गर्व लाग्दो क्षण हो। आइटिएफको ४० हजार डलरको प्रतियोगिता खेल्न उनी पहिलो नेपाली खेलाडी हुन्।’
आमासँगै भारतमा टेनिस खेल्न गएकी २० वर्षीय अभिलासाले भारतकै डब्लू २५ सोलापुर र डब्लू १५ अहमदाबादको छनोटको पहिलो राउन्डमा जित निकालेकी थिइन्। तर दुवै प्रतियोगिताको दोस्रो चरणमा उनी पराजित भइन्।
विश्व टेनिस महासंघले महिलाका लागि विभिन्न स्तरका टेनिस टुर प्रतियोगिता आयोजना गर्छ। विश्वका विभिन्न स्थानमा हुने टुर प्रतियोगिताअन्तर्गत महिलाको सबैभन्दा ठूलो प्रतियोगिता डब्लूटिए टुर हो। डब्लूटिए टुरपछिको दोस्रो श्रेणीको महिला टुर प्रतियोगिता आइटिएफ वुमन्स विश्व टेनिस टुर हो।
आइटिएफ वुम्नस टेनिस टुरले विश्वका व्यवसायीक रुपमा डब्लुटिए प्रतियोगिता खेल्नका लागि अवसर प्रदान गर्छ। यो प्रतियोगिताले डब्लूटिए वरीयताका लागि समेत अंक प्रदान गर्नेछ। यो टुरले ६५ देशका ५ सय प्रतियोगिता सञ्चालन गर्न गरेको छ।
पुरस्कारको आधारमा यसको श्रेणी समेत निर्धारण हुने गरेको छ। जसमा कुल पुरस्कारको अंकको आधारमा नाम राख्ने गरिन्छ। जस्तै अभिलासाले खेलेको डब्लू ४० नाभी मुम्बई प्रतियोगिताको कुल पुरस्कार राशी ४० हजार अमेरिका डलर हो। सुरुको खेल जितेदेखि नै पुरस्कार प्रदान गरिने प्रतियोगिताको विजेताले ४० हजारको ३३ प्रतिशतसम्म रकम प्राप्त गर्न सक्छ।
नेपालको नम्बर वान टेनिस खेलाडी अभिलासाले यो वर्षदेखि आइटिएफ टुरका प्रतियोगिता खेल्न थालेकी हुन्।
सात वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी अभिलासले गत वर्ष पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा आफूले भाग लिएको चारै स्पर्धामा स्वर्ण जितेर इतिहास रचेकी थिइन्। नेपाली सेनाबाट खेलेकी उनले महिला सिंगल्स, डबल्स, मिक्स र टिम्स गरी चार स्वर्ण जितेकी थिइन्।
यस्तै २०१९ मा नेपालमै आयोजना भएको साग गेम्समा अभिलासाले टिम इभेन्स र डबल्समा कास्य पदक जितेकी थिइन्। तीन महिनाअघि चीनको हाङझाङमा भएको एसियाली खेलकुदमा पनि उनले प्रतिस्पर्धा गरेकी थिइन्।
यस्तै महिला टेनिसको विश्वकपको रुपमा चिनिने बिली जीन किंग्स कप २०२३ मा पनि नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी थिइन्। १३ वर्षदेखि लगातार टेनिस खेलाडी रहेकी अभिलासाले सुरुमा नेपालमै टेनिस सिकेकी थिइन्। त्यसपछि उनलाई परिवारले श्रीलंका, थाइल्यान्ड, भारत, म्यानमारमा पठाएर टेनिस सिकाएको थियो।
सन् २०१९ देखि उनलाई विदेशबाट प्रशिक्षक मगाएर नेपालमै टेनिस सिकाइएको थियो। आइटिए हुँदै डब्लूटिए टुर खेल्ने योजना बनाएकी अभिलासाले अबको चार वर्षमा शीर्ष स्तरको प्रतियोगिता खेल्ने योजना बनाएकी छिन्।




