रमिता बि क
कमलबजार, १९ ।
दुई दिने माटाे परिक्षण शिविर कार्यक्रम कमलबजार नगरपालिकामा सुरु भएको छ । कमलबजार नगरपालिका कृषि विकास शाखा कमलबजार अछामको आयोजना तथा सुदूरपश्चिम प्रदेश माटो परीक्षण प्रयोगशाला सन्दपुर कञ्चनपुरको प्राविधिक सहयोगमा २ दिने माटो परीक्षण शिविर उद्घाटन समारोह कमलबजार नगरपालिकामा सुरु भएको हो। माटो परीक्षण शिविर जेठ १९ र २० गते सम्म चल्ने भएको छ। कमल बजारनगरपालिकाका १० वटा वडाका ११ समूह बाट २५० वटा माटोको नमुना सङ्कलन गरिएको छ।
आर्थिक विकास समिति संयाेजक एवम् कमलबजार नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रजा बहादुर बोगटीले माटो परीक्षण शिविर उद्घाटन समारोहमा बोल्दै किसानको बाँच्ने मुख्य आधार कृषि भएकाले उत्पादन क्षमता बढाउन माटो परीक्षण शिविरले विशेष सहयोग पुग्ने बताउनुभएको थियो। उहाँले माटो परीक्षण शिविरबाट नगरका धेरैजना कृषकहरूलाई लाभ मिल्ने बताउँदै नगरका सम्पूर्ण कृषक अगुवाहरूले समयमै माटो परीक्षण गरेर उत्पादन क्षमता बढाउन आग्रह गर्नुभएको थियो।
यस्तै प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर बिष्टले माटो मानव जीवनसँग जोडिएको हुनाले यसलाई आमासरह ठानेर बेलाबेलामा रेखदेख र उपचार गर्नुपर्ने बताउँदै माटोको उर्वरा शक्ति बढाएर कृषि उत्पादनमा वृद्धि ल्याउन सके किसानको आर्थिक उन्नति वृद्धि हुने बताउनुभयो । साथै बिष्टले शिविर सञ्चालनले कृषकहरूलाई विशेष लाभ मिल्ने बताउनुभएको थियो।
विकास समिति संयोजक एवं कमलबजार ८ का वडा अध्यक्ष प्रजाबहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रमका विशिष्ट अतिथि कमलबजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर बिष्ट रहनुभएको थियो। यस्तै माटो तथा मल परीक्षण प्रयोगशालाका दल बहादुर खड्का, ,रमेश प्रसाद ओझा, हाेम प्रसाद न्यौपाने, प्रकाश भट्ट, कमलबजार नगरपालिका कृषि शाखा प्रमुख बालिका चौधरी, कृषि प्राविधिक सुनिल कुँवर सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो।




