काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनबाट संगठनको नेतृत्व लिन डेढ दर्जन विद्यार्थी नेता प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।
काठमाडौंमा हुन लागेको सम्मेलनबाट अध्यक्ष बन्नका लागि १७ जना उपाध्यक्ष र एक महासचिव सहित १८ जना प्रतिस्पर्धामा छन् । संगठनका उपाध्यक्ष राजकुमार लिम्बु पारिवारिक कामले मुलुक बाहिर रहेको र कल्पना मियाँ प्रतिनिधि सभाको सांसद भइसकेकाले दुई जना भने अध्यक्षको प्रतिस्पर्धामा छैनन् ।
संगठनका उपाध्यक्ष मदन भुल (रोशन),जिपी मैनाली, इन्द्र भुसाल, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रविणा अधिकारी, पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरंजंश शाही, केशव रावल र महासचिव दीपेश पुन अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।
उपाध्यक्ष रहेका भुसाल र महासचिव पुन तत्कालीन अध्यक्ष रञ्जित तामाङ अध्यक्ष हुँदा उपाध्यक्षको जिम्मेवारीमा थिए भने उपाध्यक्ष मैनाली, एमसी, महरा र जोशी तामाङको कार्यकालमा उपमहासचिवको जिम्मेवारीमा थिए । यस्तै रावल तामाङको कार्यकालमा कोषाध्यक्षको जिम्मेवारीमा थिए भने बाँकी ११ जना तामाङको कार्यकालमा सचिवको जिम्मेवारीमा थिए ।
अध्यक्ष पञ्चा सिंहले विद्यार्थी संगठनमा लामो समयदेखि टिके प्रणाली कायम रहेकाले त्यसलाई आफूले भत्काउन खोजेको र निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन गर्ने पक्षमा आफू रहेको बताउछन ।
अध्यक्षका दाबेदार मदन भुल (रोशन) अहिलेको पदाधिकारी उपाध्यक्ष मध्ये सबैभन्दा सक्रिय भएको दाबी छ । रञ्जित तामाङ नेतृत्वको केन्द्रीय समितिमा उनी सर्वाधिक मत ल्याएर सचिव पदमा निर्वाचित भएका थिए ।
अहिले अध्यक्ष दाबी गरिरहेका अधिकांश उपाध्यक्ष राजधानी काठमाडौं केन्द्रित विद्यार्थी राजनीति गरिरहेको भए पनि भुल भने जिल्ला स्तरबाटै विद्यार्थी राजधानी गरेर संगठनको सचिव भएपछि मात्रै संघीय राजधानी काठमाडौं छिरेका हुन् । उनले अखिल (क्रान्तिकारी) अछामको अध्यक्ष भएर पनि जिम्मेवारी सम्हालिसकेका छन् ।
पिछडिएको क्षेत्र र उत्पीडित दलित समुदायबाट उपाध्यक्षसम्म पुगेर अध्यक्षमा दाबी गर्ने भुल पहिलो व्यक्ति हुन् । उनकै नेतृत्वमा जाजरकोट र रुकुम पश्चिममा २ सय जना स्वयंसेवक परिचालन गरेर २ हजार अस्थायी टहरा निर्माण गरिएको थियो ।
उनले भने, ‘मैले अहिलेसम्म जिल्ला तहदेखि केन्द्रीय समितिको उपाध्यक्षसम्म आइपुग्दा सबै जिम्मेवारी सक्रिय रूपमा पुरा गरेको छु । संगठनले खटाएको हरेक अभियान तथा मोर्चामा नतिजामूलक काम गरेको छु । पिछडिएको क्षेत्र र पिछडिएको वर्ग तथा उत्पीडित समुदायको प्रतिनिधित्व पनि मैले गर्ने भएकाले मेरो अध्यक्षमा सशक्त दाबी रहन्छ source: pahadkhabar.com