अछाम माघ २० ।
अछामको मङ्गलसेन नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १ हजार ५ सय ८० जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको HPV खोप लगाईने भएको छ । देशभरी सञ्चालन हुने अभियान अन्तर्गत मङ्गलसेन नगरपालिकामा माघ २२ गतेबाट २६ गते सम्म खोप अभियान सञ्चालन गरिने भएको हो ।
विद्यालयमा अध्ययनरत किशोरीहरुको हकमा कक्षा ६ देखी १० सम्म अध्ययनतर १ हजार पाँच सय ३९ जना र विद्यालय बाहिर रहेका ४१ जना किशोरीहरुलाई खोप लगाईने छ । नगरभरी जम्मा ३३ वटा खोप केन्द्र मार्फत अभियान सञ्चालन गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले बताउनुभयो । जसमध्ये १७ वटा खोप सेसन कक्षा ६ देखी १० सम्म पढाई हुने विद्यालयमा र अन्य खोप सेसन विभिन्न १५ वटा स्वास्थ्य संस्था मार्फत सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।
यसैविच HPV खोप अभियान तथा समग्र स्वास्थ्य अबस्था सम्बन्धी नगरपालिका स्तरिय अभिमुखीकरण आज आईतबार नगरपालिकामा सम्पन्न भएको छ । नगर स्तरिय खोप समन्वय समिति तथा सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम गरिएको हो । नगर उपप्रमुख संगिता कुमारी रावलको अध्यक्षतामा भएको कार्यक्रममा क्यान्सर रोगको वर्तमान अवस्था, HPV खोपको महत्व र नगरको समग्र स्वास्थ्य अवस्थाका बारेमा सरोकारवालाहरुलाई जानकारी समेत गराईएको थियो ।
कार्यक्रममा प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, स्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख दिपेन्द्र जोशी, पूर्व नगर उपप्रमुख सरिता उपाध्याय, वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरु, नगरपालिकाका कर्मचारीहरु, पत्रकार लगायतको सहभागीता रहेको थियो ।
स्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख दिपेन्द्र जोशीले सहजिकरण गर्नुभएको अभिमुखिकरण कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगानाले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय