अछाम । पञ्चदेवल विनायक नगरपालिकाको समन्वय तथा साझेदारीमा नगर बाल सञ्जालको आयोजना तथा आस्था नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग एवं सहजीकरणमा सञ्चालित दुईदिने नगरस्तरीय बाल भेला सम्पन्न भएको छ।
नगर बाल सञ्जालकी अध्यक्ष सिर्जना अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख अम्बिका चलाउने प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खरेल, सामाजिक विकास संयोजक तथा वडा नं. १ का अध्यक्ष दुर्गा प्रसाद तिमिल्सेना, आस्था नेपालका प्रतिनिधिहरू, नगर बाल सञ्जालका पदाधिकारी तथा विभिन्न विद्यालयका बालबालिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सामाजिक विकास संयोजक तिमिल्सेनाले बाल अधिकार संरक्षण, बाल सहभागिता, नेतृत्व विकास तथा बालमैत्री स्थानीय शासन प्रवर्द्धनका लागि यस्ता भेलाहरू प्रभावकारी माध्यम भएको बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृत खरेलले बालबालिकाको क्षमता अभिवृद्धि र नेतृत्व विकासमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै स्थानीय सरकारसँग सहकार्य गरी बालमैत्री गतिविधि सञ्चालन गरेकोमा आस्था नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालप्रति धन्यवाद व्यक्त गर्नुभयो।
प्रमुख अतिथि नगर प्रमुख चलाउनेले बालबालिका भविष्यका मात्र नभई वर्तमानका पनि महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै उनीहरूको आवाजलाई स्थानीय नीति, योजना तथा बजेट निर्माण प्रक्रियासँग जोड्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। साथै, भेलाबाट पहिचान भएका सवालहरूलाई आगामी नीति, कार्यक्रम तथा बजेटमार्फत सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
दुई दिनसम्म सञ्चालन भएको भेलामा सहभागी बालबालिकाहरूले विभिन्न सहभागितामूलक अभ्यासमार्फत समुदाय तथा विद्यालयस्तरका समस्याहरूको पहिचान, विश्लेषण र प्राथमिकीकरण गरेका थिए। छलफलबाट बाल विवाह, मोबाइलको दुरुपयोग, लागूपदार्थ दुर्व्यसन तथा महिनावारी व्यवस्थापन सम्बन्धी समस्या प्रमुख सवालका रूपमा पहिचान भएका थिए। प्राथमिकताका आधारमा बाल विवाह पहिलो, मोबाइलको दुरुपयोग दोस्रो, लागूपदार्थ दुर्व्यसन तेस्रो र महिनावारी व्यवस्थापन चौथो स्थानमा परेको थियो।
पहिचान गरिएका सवालहरूको समाधानका लागि समुदायस्तरमा बालबालिका, अभिभावक तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने, बाल विवाह तथा अन्य कुरीति अन्त्यका लागि सचेतनामूलक सडक नाटक प्रदर्शन गर्ने, नगर बाल सञ्जालको नेतृत्व विकासका लागि नियमित तालिम तथा बैठक सञ्चालन गर्ने, “मेयरसँग बाल संवाद” कार्यक्रम आयोजना गर्ने तथा सामाजिक कुरीति न्यूनीकरणका लागि व्यापक जनचेतना अभिवृद्धि गर्ने लगायतका कार्यक्रम समेटिएको कार्ययोजना तयार गरिएको छ। उक्त कार्ययोजना कार्यान्वयनका लागि स्थानीय सरकारलाई हस्तान्तरण गरिने जनाइएको छ।
नगर बाल सञ्जालका सचिव संगीत तिमिल्सेनाले सञ्चालन गर्नुभएको कार्यक्रमको सहजीकरण आस्था नेपालका दिलबहादुर शाही, सागर देवकोटा र सुशील बटालाले गर्नुभएको थियो। कार्यक्रम बालबालिकाका आवाजलाई स्थानीय सरकारसम्म पुर्याउने, उनीहरूको नेतृत्व क्षमता विकास गर्ने तथा बालमैत्री समाज निर्माणतर्फ महत्वपूर्ण उपलब्धिका साथ सम्पन्न भएको आयोजकले जनाएको छ।




