
हिक्मत बहादुर नेपाली
अछाम फाल्गुन ०४ ।
अछाम जिल्लाको कमलबजार नगरपालिका वडा नं ७ मा अवस्थित ७१ मिटर अग्लो छडान देवी झरना प्रचारप्रसारको अभावमा ओझेलमा रहेको छ । छडान देवी झरना अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । हरियालीले ढाकिएको यस क्षेत्रमा विभिन्न प्रकारका चराचुरुङ्गीहरू पाइन्छन्, जसले वातावरणलाई झनै मनोरम बनाउँछ । विशेष गरी कोइलीको कुहुकुहु आवाज ले आगन्तुकहरूलाई लोभ्याउने गर्छ।
स्थानीय जनश्रुति अनुसार परापूर्वकालमा देवीले यही झरनामा नुहाउने गर्थिन्, जसका कारण यसको नाम छडान देवी झरना रहन गएको हो । झरनाको धार्मिक महत्त्वलाई थप बढाउँदै स्थानीय भीमबहादुर भण्डारी ले आफ्नै लगानीमा नजिकै शिव मन्दिर निर्माण गरेका छन् । झरनाको आसपासका क्षेत्रहरूमा बहुमूल्य जडीबुटीहरू समेत पाइन्छन् । यहाँ गेरु जडीबुटी समेत फेला परेको छ, जसले यो क्षेत्रको प्राकृतिक महत्वलाई उजागर गर्छ । यदि राज्य वा सम्बन्धित निकायहरूले आवश्यक लगानी गर्ने हो भने, छडान देवी झरनालाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य को रूपमा विकास गर्न सकिने स्थानीय महेश जैसीले बताउनु भयो ।
पूर्वाधार निर्माण, पदमार्ग व्यवस्थापन र प्रचारप्रसार गरिएमा यसले स्थानीय अर्थतन्त्रलाई मजबुत पार्ने मात्रै होइन, अछामको पर्यटन प्रवद्र्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने भएकोले सरोकारवाला सबैले यस क्षेत्रको विकासकाम लागी लाग्नुपर्ने स्थानीय महेशको भनाई छ ।
स्थानीय मनकामना मा. बि का प्रधानाध्यापक हेमन्त प्रसाद खतिवडाका अनुसार – छडान देबि झरना प्राकृति दृष्टिले मनमोहक मात्र होइन धार्मिक र सास्कृतिक आस्थाको केन्द्र रहेको छ । परापुर्बकालमा, देबि हिड्ने क्रममा सुन्देवी र आकाश देबि हुँदै यो झरनाको बिचमा गहिरो भएको गुफा आकारको संरचना भएको खाल्डोमा देबिको अहिले सम्म पनि बास रहेको र यो ठाउँमा तिनै देबिको शक्तिको कारणले अहिले सम्म पनि बादर, दुम्सी नआउने गरेको र बेलुकिको खानामा जुठो गर्न नहुने धार्मिक जन आस्था रहेको छ ।