अमेरिकामा नसुत्न सकेको त्यो रात
त्यो रात अमेरिकामा म निदाउन सकिनँ,
हजारौँ माइल टाढा भए पनि
मेरो मन नेपालकै आकाशमुनि भौँतारिइरह्यो।
झलझली आँखाअघि आइरहे—
माछाजस्तै भेलमा बगिरहेका मान्छेहरू,
माटोमुनि पुरिएका जिन्दगीहरू,
सुरुङभित्र हराएका सासहरू,
र भग्नावशेषबीच छरपस्टिएका
मान्छेका हात–खुट्टाहरू।
कसैको घर बग्यो,
कसैको सपना बग्यो,
कसैको जीवनको सहारा बग्यो।
कतै आमाको काख रित्तियो,
कतै बाबुको हात छुट्यो,
दूधे बालकको आँखामा
आमा खोज्ने प्रश्न मात्रै बाँकी रह्यो।
परिवारहरू टुक्रा–टुक्रा भए,
आँगनहरू सुनसान भए,
हिजोसम्म हाँसो गुञ्जिने घरहरूमा
आज केवल चित्कार र सन्नाटा बाँकी रह्यो।
ती दृश्य सम्झिँदा
मेरो हृदय चिरा–चिरा भयो,
आँखाका डिलमा थामिएका आँसुहरू
आफ्नै देशतर्फ बग्न खोजे।
म अमेरिकामा थिएँ,
तर मेरो आत्मा नेपालमै थियो—
त्यो बाढीको भेलसँगै बगिरहेको,
त्यो माटोमुनि पुरिएको,
त्यो पीडासँगै सास फेरिरहेको।
रातभरि म छटपटाइरहेँ,
पानीबिनाको माछाजस्तै,
आफ्नै देशको पीडा देखेर
आफ्नै मुटुभित्र डुबिरहेको मान्छेजस्तै।
मोबाइलको पर्दामा नेपाल देखिन्थ्यो,
तर पर्दामा देखिएको त्यो पीडा
मेरो मुटुमा झन् गहिरो गरी कुँदिँदै गयो।
त्यो रात निद्रा आएन,
आँखा बन्द गर्दा पनि नेपाल देखिन्थ्यो,
आँखा खोल्दा पनि नेपालकै आँसु देखिन्थ्यो।
त्यो रात मैले बुझें—
देश केवल नक्सामा कोरिएको भूगोल होइन रहेछ,
देश त रहेछ—
टाढा बसे पनि हरेक धड्कनमा बाँचिरहने
आफ्नै मुटुको एउटा टुक्रा।
र त्यो रात,
मेरो मुटुको त्यही टुक्रा
नेपालसँगै रोइरहेको थियो।
लेखक : शंकर भण्डारी हाल अमेरिकामा बसोबास गर्दै राजनीतिशास्त्रमा पीएचडी अध्ययनरत हुनुहुन्छ। उहाँले समसामयिक राजनीति, समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुमा आफ्ना विचार तथा लेख–रचनाहरू विभिन्न पत्रपत्रिका तथा अनलाइन सञ्चारमाध्यमहरूमा प्रकाशित गर्दै आउनुभएको छ।




