काठमाडौं , भाद्र १२ । रसुवा बाढीपीडित सहयोग अभियान नेपाल अन्तर्गत नेपाल जेसिजले थालेको “एक सदस्य, एक सय अभियान–२०२६” बाट १० लाख (दश लाख) शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
विपद्ले घर बगाउँदा केवल एउटा परिवारको छानो मात्र हराउँदैन, त्योसँगै धेरै सपना, आशा र जीवनका खुसीहरू पनि प्रभावित हुन्छन्। आज रसुवा पीडामा छ, र यो पीडा रसुवाको मात्र होइन—सम्पूर्ण नेपालीको साझा पीडा हो। यही मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नेपाल जेसिजद्वारा सञ्चालन गरिएको “एक सदस्य, एक सय अभियान–२०२६” अन्तर्गत संकलित सहयोग रकममध्ये रु. १० लाख (दश लाख) आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको नेपाल जेसिजका अध्यक्ष जीवन कार्कीले जानकारी दिनुभयो । देशभर जेसिजमा आबद्ध सदस्यहरुबाट संकलन भएको रकम कोषमा जम्मा गरेपछि उहाँले भन्नुभयो , रु. १० लाख केवल रकम होइन,यो देश दुख्दा दुख्ने हजारौँ मनहरूको योगदान हो। यो विपद्मा परेका परिवारहरूप्रतिको हाम्रो साथ र ऐक्यबद्धता हो। यो मानवता अझै जीवित छ भन्ने विश्वास हो। यस अभियानमा आफ्नो क्षमता, समय र मनले सकेको सहयोग गर्नुहुने सम्पूर्ण जेसिज सदस्यज्यूहरू, स्थानीय शाखाहरू, संघ–संस्था, शुभेच्छुक तथा सहयोगी महानुभावहरू प्रति नेपाल जेसिजको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु।
विपद्को यस कठिन घडीमा नेपाल जेसिज रसुवाका पीडित परिवारहरूसँग दृढतापूर्वक साथमा छ। आजको सहयोग एउटा सुरुवात मात्र हो। पीडामा परेका समुदायको सहयोग र पुनर्स्थापनाका लागि हाम्रो मानवीय प्रयास निरन्तर जारी रहनेछ।
सेवा केवल शब्द होइन, व्यवहार हो।मानवता केवल भावना होइन, जिम्मेवारी हो। र विपद्मा एकजुट हुनु नै हाम्रो साँचो पहिचान हो।
एक सदस्य, एक सय —मानवताको लागि हाम्रो साझा संकल्प।




