हिक्मत बहादुर नेपाली

अछाम फाल्गुन ०४ ।

अछामको बयालपाटा अस्पतालमा पहिलोपटक सफल हिप प्रत्यारोपण भएको छ । जिल्लाको साँफेबगर नगरपालिका वडा नं ८, बयालपाटाका ३० वर्षीय निरोज भुलको चार घण्टाको शल्यक्रियापछि हिप सफलतापूर्वक प्रतिस्थापन गरिएको बयालपाटा अस्पतालका अर्थोपेडिक सर्जन डा. मन्दिप पाठकले बताउनु भयो । डा. मन्दिपको नेतृत्वमा बरिष्ठ अर्थोपेडिक सर्जन डा. भाष्कर राज पन्त, डा. सन्दीप भण्डारी, एनेस्थेसिया सहायक महेन्द्र कुँवर, नर्स एकता भारती,राजेश्वरी कुमाल, सहयोगी लक्ष्मी विक र दीपा बम को टिमले सफल शल्यक्रिया गरेको हो । काठमाडौंबाट विशेष रूपमा आएका डा. पन्त र डा. भण्डारीले नेपालका ठूला अस्पतालहरूमा मात्र हुने हिप जोर्नी प्रत्यारोपण बयालपाटामा पहिलोपटक हिप रिप्लेसमेन्ट सर्जरी सफलतापूर्वक सम्पन्न भएकोे बताउनु भयो । आफ्नै घरआगनमा निशुल्क उपचार पाउदा निरोज भुलले खुसी व्यक्त गर्नु भयो ।

यसरी भएको थियो निरोजको उपचार प्रारम्भ

साँफेबगर नगरपालिका वडा नं ८, बयालपाटाका ३० वर्षीय निरोज भुल लाई तीन वर्षदेखि खुट्टाको दुखाइले सताइरहेको थियो। सुरुमा गाउँघरमै झारफुक गरियो, तर सुधार नआएपछि मेडिकल उपचार गराए पनि दुखाइ कम भएन। उनका दाजु विक्रम भुल भन्छन्, “पहिले त खुट्टामा निन्याउरो परेको होला भन्ने लाग्यो, झारफुक गरायौँ, तर समस्या झन् बल्झियो।” निरोजको खुट्टाको समस्या बढ्दै जाँदा उनलाई उकालो–ओरालो हिँड्न गाह्रो हुने, राति सुत्दा दुख्ने, शरीरको तल्लो भागमा ज्वरो आउने र ढाड दुख्ने समस्याले सतायो। धनगढीको नवजीवन अस्पतालले नेपालगञ्ज वा काठमाडौं लैजान सुझाव दिए पनि आर्थिक अभावका कारण उनी उपचार गराउन सकेनन्। “डाक्टरले ८–९ लाख रुपैयाँ लाग्ने भनेपछि घर फर्कनुबाहेक विकल्प रहेन,” विक्रमले सुनाए।

छ महिनापछि विक्रमले बयालपाटा अस्पतालका अर्थोपेडिक सर्जन डा. मन्दिप पाठक लाई भेटी उपचारको सम्भावनाबारे सल्लाह लिए । डा. मन्दिपले एमआरआई परीक्षण गराउन सुझाव दिए, जसअनुसार नेपालगञ्जमा जाँच गराएपछि निरोजको बायाँ हिपको हड्डी पूर्ण रूपमा नष्ट भइसकेको पत्ता लाग्यो।

बिरामीको खुसी र अस्पतालको भूमिका

अमेरिकामा निर्मित जिम्मर कम्पनीका उपकरणहरू प्रयोग गरी गरिएको चार घण्टाको शल्यक्रियापछि निरोजको हिप सफलतापूर्वक प्रतिस्थापन भए पश्चात निरोजले भने, “हिजोसम्म दुखाइ असह्य थियो, तर आज धेरै सहज महसुस भइरहेको छ।” अस्पतालमा एक दिन मात्र राखेर भोलिपल्ट नै हिँड्न दिने योजना रहेको डा. पन्त बताउँछन्।

निरोजका दाजु विक्रम पनि घरमै यस्तो उपचार पाउँदा खुसी छन्। “नेपालगञ्ज वा काठमाडौंमा गरे घरखेत बेच्नुपर्ने अवस्था थियो, तर आफ्नै गाउँमा निःशुल्क शल्यक्रिया हुँदा खुसी लागेको छ,” उनले भने।

बयालपाटा अस्पतालका डा. मन्दिप भन्छन्, “श्रोत–साधन भएमा घुँडाको हड्डी, कम्मरको हड्डी, हड्डीको क्यान्सर, खेलाडीहरूलाई लाग्ने चोटपटकजस्ता जटिल समस्या यहीँ उपचार गर्न सकिन्छ।”

७२ वर्षीय चन्द्रकलाको समेत हिप प्रत्यारोपण

यसैबीच, चौरपाटी गाउँपालिका–५, गयलकी ७२ वर्षीय चन्द्रकला खड्काको पनि सफल हिप जोर्नी प्रत्यारोपण गरिएको छ। घरबाट लडेर घाइते भएकी उनलाई बयालपाटामा सफल सर्जरी गरियो। उनका श्रीमान् बज्जिरे खड्काले भने, “भारत लैजानुपर्ने अवस्था थियो, तर आफ्नै ठाउँमा निःशुल्क उपचार पाएर खुसी छौँ।” डा. पन्तका अनुसार, वृद्ध अवस्थाका बिरामीको हिप शल्यक्रिया जोखिमयुक्त हुन्छ, तर बयालपाटाको सक्षम चिकित्सक टोलीले सफलतापूर्वक सम्पन्न गर्यो।

बयालपाटाको दिगो सञ्चालनमा जोड

बयालपाटा अस्पतालको व्यवस्थापन गर्ने न्याय हेल्थ नेपाल का पदाधिकारीहरू, पूर्व जिविस सभापति भरत कुमार स्वाँर र पूर्व नगर प्रमुख कुल बहादुर कुँवरले अस्पताललाई निरन्तर सञ्चालन गर्न प्रदेश सरकार र स्थानीय तहले सहयोग गर्नुपर्ने बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत ५० शय्याको अस्पताल भए पनि बिगत तीन वर्षदेखि बजेट बिनियोजन नभएकोप्रति सरोकारवालाहरू असन्तुष्ट छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय