मंगलसेन, चैत्र १२ – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय मंगलसेनले मंगलसेन नगरपालिका-५, भाटबाडा निवासी ललिता भाटलाई बीमा क्षतिपूर्ति रकम हस्तान्तरण गरेको छ।
ललिता भाटका श्रीमान् नन्दे भाटको २०८१ मंसिर १२ गते निधन भएपछि संस्थाले बीमा दाबीअनुसार क्षतिपूर्ति स्वरूप रु. १ लाख र काजकिरिया खर्च स्वरुप रु. ३० हजार गरि एक लाख तीस हजारको चेक हस्तान्तरण गरेको हो। चैत्र १२ गते शाखा प्रमुख मनु अर्याल तथा फिल्ड कर्मचारी टंक प्रसाद भण्डारी सहित समूह सदस्यहरूको रोहबरमा उक्त रकम हस्तान्तरण गरिएको थियो।
शाखा प्रमुख अर्यालले भने, “हाम्रा सदस्यहरू कुनै पनि संकटमा परेका बेला संस्थाले राहतको हात अघि बढाउने प्रतिबद्धता जनाएको छ। मानवीय क्षति त पैसाले पूरा गर्न सक्दैन, तर आर्थिक भार घटाउन यो सहयोग उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास छ।”
निर्धन उत्थान लघुवित्तले कर्जा लगानी गरेका सदस्यहरूको श्रीमान् वा सदस्यको निधन भएमा बीमा सुविधा प्रदान गर्दै आएको छ। साथै, संस्थाले सुत्केरी स्याहार भत्ता, बाढीपहिरो राहत, दीर्घरोग सहायता जस्ता गैर-वित्तीय सेवामार्फत सदस्यलाई सहयोग पुर्याउँदै आएको छ। मंगलसेन शाखा कार्यालयबाट मात्र पनि सयौं सदस्यले यस्ता सेवाहरू पाइसकेका छन्।




