
हिक्मत बहादुर नेपाली
अछाम चैत्र २७ ।
प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको चिसापानी जंगलघाट बडिमालिका सडक स्तरोन्नती आयोजनाको निमार्ण कार्य तिब्र गतिमा सञ्चालन भई रहेको छ । चिसापानी जंगलघाट बडिमालिका अन्र्तगतको गैरिटाँड कमलबजार बाँसकाडा खण्डको २३ किलोमिटर सडक कालोपत्रेको कामको पहिलो चरण अन्र्तगत यतिवेला प्राईमर छर्ने काम भईरहेको छ । सडक कालोपत्रेका लागी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र पिके निमार्ण सेवा प्रा लि विच ६९ करोड ४३ लाख ५३ हजार ९ सय ६ रुपैया ८७ पैसा लागतमा आगामी २०८२ पौष मसान्त सम्म सम्पन्न हुने गरी गत बर्ष २०८० असार १८ गते सम्झौता भएको थियो । ठेक्का अवधि भित्रै कालोपत्रेको काम सम्पन्न हुने गरि काम भईरहेको पिके निर्माण सेवा प्रालिका प्रमुख प्रकाश विश्वकर्माले बताउनु भयो ।
सडक कालोपत्रेको काम अगाडी बढेपछी कमलबजारमा राजमार्ग नजिकै व्यवसाय गदैं आउनु भएका स्थानीय कर्ण भण्डारीले हिउदमा धुलो र बर्खामा हिलो बाट मुक्त हुने विश्वास व्यक्त गर्नु भयो ।
अछाम लगायतका जिल्ला लाई तराई संग जोड्ने सवै भन्दा छोटो मार्ग भएकाले यो सडक कालोपत्रे बनेमा विकासको ढोका खुल्ने बताउदै सडक कालोपत्रेका काममा स्थानीय सरकारले समन्वय गरीरहेको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञ प्रसाद ढकालले बताउनु भयो । चिसापानी जंगलघाट मंगलसेन सडक सञ्जाल जोड्नका लागी सुर्खेतको पञ्चपुरी र अछामको तुर्माखाद गाउपालिकाको सिमाना जंगलघाट स्थित कर्णाली नदि माथी पक्की पुल निमार्ण कार्य भईरहेको छ ।