रमिता बि क
कमलबजार,कार्तिक ६ ।
कमलबजार नगरपालिका ५ कुईका स्थित पोखरीस्थलमा अस्ति र हिजाे गरी जम्मा १२ वटा राष्ट्रिय झण्डा गाडिएको छ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त पोखरीस्थललाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय बासिन्दा, युवा तथा आस्थावान नागरिकहरूले संयुक्त रूपमा झण्डा गाड्ने कार्य सम्पन्न गरेका हुन्।
दुई दिनसम्म चलेको उक्त झण्डा गाँड्ने कार्यक्रममा स्थानीय समुदायको उत्साहजनक सहभागिता रह्यो। स्थानीयले पोखरी वरिपरि सरसफाइ गर्दै पूजा–अर्चना तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरेका थिए। उनीहरूका अनुसार यो पोखरीस्थल क्षेत्रको पुरानो धार्मिक सम्पदा हो, जसलाई व्यवस्थित रूपमा संरक्षण गर्न सके स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ।
वडा नम्बर ५ कुईकाका वडा अध्यक्ष सत्यराज तिमिल्सैनाका अनुसार यो अभियानले समुदायमा एकता र धार्मिक आस्थाको अभिवृद्धि गरेको छ। उहाँले भन्नुभयो।कुईका पोखरी हाम्रो संस्कृतिको पहिचान हो। यसलाई संरक्षण गर्न स्थानीय युवाहरूले अग्रसरता देखाउनु वास्तवमै प्रशंसनीय छ। वडा कार्यालयको तर्फबाट पनि यस स्थलको संरक्षण र विकासका लागि आवश्यक सहयोग प्रदान गरिनेछ,” अध्यक्षले बताउनुभयो।
पोखरी परिसरमा हरियाली संरक्षण, ढुंगामाटो व्यवस्थापन र स्थायी झण्डा डाँडा निर्माण गर्ने योजना बनाउनुपर्ने आवश्यकता देखिएको छ । अझै उक्त पोखरीस्थललाई धार्मिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सके गाउँको आर्थिक र सांस्कृतिक विकासमा ठूलो योगदान पुग्ने सम्भावना छ।





