कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेड मंगलसेनको १६ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खेमराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले कैलाश बचत तथा ऋण सहकारी संस्थाले पछिल्लो समयमा राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो । विचमा विविध कारणले राम्रो गर्न नसकेको सहकारीले अहिले सबै शेयर सदस्य तथा बचतकर्ताको मनजित्ने काम गरेको पाइएकाले यसलाई निरन्तरता दिन सुझाव दिनुभएको छ । सहकारी भनेको सरकारको मुख्य सहयोगी निकाय भएकाले यसलाई चलायमान बनाउन स्थानीय सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । यो सहकारीलाई जिल्लाकै नमुना बनाउने गरि योजना निर्माण गर्न आग्रह गर्दै नगर प्रमुख बोहराले राम्रो गरे शेयर सदस्य खोज्दै हिड्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । बचतको महत्व, यसले भविष्यमा पार्ने सकारात्मक प्रभावका बारेमा जानकारी दिने काम यही सहकारीले गरेको उहाको भनाई छ ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ अछामका अध्यक्ष चन्द्र प्रसाद भण्डारीले देशमा सहकारीको पछिल्लो अवस्था, गर्नुपर्ने काम र संस्थाका संचालक, बचत तथा शेयर सदस्यहरुले ध्यान दिनुपर्ने कुराहरुको बारेमा जानकारी गराउनुभएको थियो । कैलाश बचत तथा ऋण सहकारी संस्थामा अहिले सुधारका सकारात्मक संकेत देखिन थालेकोमा खुसी व्यक्तगर्दै अध्यक्ष भण्डारीले नगरका अन्य सहकारीको अवस्था केछ त्यसको प्रभावकारी अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । जबसम्म हामीमा सहकारी हाम्रो हो, यसलाई हामीले चलाउनुपर्छ, लगेको ऋण समयमै तिर्नुपर्छ भन्ने सोचको विकास हुदैन तबसम्म यसको विकास हुन नसक्ने अध्ययक्ष भण्डारीको भनाई थियो ।
संस्थाका अध्यक्ष खेमराज ढुंगानाले संचालक समिती र कर्मचारीको एक आपसको समन्वय र सहकार्यको माध्यमबाट सहकारीमा राम्रो परिणम देखिएको बताउनुभयो । खराबकर्जा असुली गर्ने देखी शेयर सदस्य बढाउने काम समेत संगसंगै अघि बढाउदा अहिलेको परिणम आएको अध्यक्ष ढुंगानाको भनाई छ । आगामी दिनमा यो सहकारीलाई कसरी नमुना सहकारी बनाउन सकिन्छ भन्ने तर्फ आफ्नो नेतृत्वको टिम लागीपरेको बताउदै अध्यक्ष ढुंगानाले सबैको सकारात्मक सहयोगको अपेक्षा समेत गर्नुभएको छ ।
यस्ता संस्थाहरु कुनै एक व्यक्तिको पहलले मात्रै राम्रो बनाउन नसकिने भन्दै अध्यक्ष ढुंगानाले सहकारीलाई सहकारीकै रुपमा विकास गर्ने हो भने समुदायका नागरिकले सहयोग गर्नुपर्ने र सहकारीमा आवद्ध हुन आग्रह समेत गर्नुभएको छ । हाल नगरका ३ वटा वडामा मात्रै कार्यक्षेत्र बनाएको सहकारीलाई १४ वटै वडामा यसको सेवा क्षेत्र बनाउने योजना रहेको सोही अवसरमा जानकारी गराउनुभएको थियो ।
साधारणसभामा आफ्नो प्रतिक्रिया दिदै सहकारीका व्यवस्थापक भरत सिंह रावलले समग्र सहकारीको अवस्थाको बारेमा जानकारी गराउदै यस वर्ष बाट सहकारी नाफामा गएको बताउनुभयो । यो बर्ष सहकारीले ६७ लाख २८ हजार ७ सय ८६ रुपैया नाफा कमाएको सोही अवसरमा जानकारी गराउनुभएको थियो । विगतका वर्षहरुमा घाटामा रहेको सहकारीलाई एक वर्षको अवधिमा नाफामा लिने काम आफुहरुले गरेको भन्दै यस वर्ष बाट शेयर सदस्यहरुलाई लाभांश समेत वितरण गर्ने योजना रहेको व्यवस्थापक रावलको भनाई छ । उहाका अनुसार सहकारीले भाका नाघेको ५६ लाख ७२ हजार १ सय २२ रुपैया बाट १४ लाख ९६ हजार ५ सयमा झारेको छ । ४१ लाख ७५ हजार ५ सय २९ रुपैया खराब कर्जा समेत असुल गरेको छ । यस्तै सहकारीले ४ सय १ जना शेयर सदस्य बाट थपेर ४ सय २७ जना पु¥याएको छ । विगतका वर्ष यो वर्ष सहकारीले संस्थाको पूजी बृद्धि संगै ऋण लगानी, बचत संकलन, समुह निर्माण देखी सबै क्षेत्रमा राम्रो प्रगती हासील गरेको व्यवस्थापक रावलको भनाई छ । अहिले पनि सहकारीको महत्वका बारेमा धेरै नागरिकलाई जानकारी नहुदा समस्या भईरहेको भन्दै उहाले सहकारी शिक्षाको अवश्यक्ता रहेकाले स्थानीय सरकारले यसका लागी आवश्यक बजेटको व्यवस्थापन गर्न आवश्यक रहेको व्यवस्थापक रावलले बताउनुभयो । सहकारीलाइ नमुना बनाउनेगरि काम भईरहेकाले आफ्नो टीमलाइ विश्वाश गर्न व्वस्थापक रावलले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा मंगलसेन नगरपालिका पुर्व उप प्रमुख सरिता उपाध्याय, मंगलसेन नगरपालिका वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा न ४ का अध्यक्ष नाम सिंह धामी, शेयर सदस्य भावना केसी लगायतले शुभकामना मन्तव्य राख्दै सहकारीले राम्रो गरेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सबै जिल्लाबासीको मन जित्नेगरि काम गर्न सुझाव दिएका थिए । साधारणसभामा सहभागि अन्य शेयर सदस्यहरुले पनि सहकारीलाई कसरी व्यवस्थित बनाएर लैजान सकिन्छ यस विषयमा आ आफ्नो तर्फबाट सुझाव दिएका छन । अहिले धेरै कुरामा सुधार भएको देख्दा खुसी लागेको भन्दै उनीहरुले आगामी दिनमा नगरका १४ वटै वडामा यसको सेवा क्षेत्र विस्तार गर्न सुझाव दिएका थिए । कार्यक्रममो संचालन संस्थाका सचिव लिलाराज केसीले गर्नुभएको थियो । सोही अवसरमा संस्थाका शेयर सदस्यका छोराछोरीले गत वर्षको एसइइमा राम्रो नतिजा ल्याएर उतिर्ण भएको भन्दै नगद र प्रमाणपत्र दिएर सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय