हिक्मत बहादुर नेपाली
अछाम पौष ११ । अछाममा विभिन्न क्षेत्रमा आवद्व सामाजिक अगुवालाई मर्यादित महिनावारीबारे २ दिने पैरवी तालिम दिईएको छ । जिल्लाको सदरमुकाम मंगलसेनमा मर्यादित महिनावारीसम्बन्धी दुई दिने तालिम सञ्चालन भएको हो ।
स्थानीय सरकारका नेतृत्वकर्ता तथा सरोकारवालाहरूलाई लक्षित गरी तालिम आयोजना गरिएको हो।
महिनावारीसम्बन्धी समाजमा विद्यमान गलत धारणा र भ्रमहरू चिर्दै यसको वास्तविक महत्वबारे सही जानकारी प्रवाह गर्ने उद्देश्यले समविकास नेपालले तालिमको आयोजना गरेको थियो ।
तालिममा मर्यादित महिनावारी अभियान्ता डा. राधा पौडेल र पत्रकार गोविन्द खड्काले प्रशिक्षण दिएका थिए। प्रशिक्षणका क्रममा सहभागीहरूको भोगाइ, अनुभव र बुझाइसँगै जिल्लामा सञ्चालन भइरहेका महिनावारीसम्बन्धी गतिविधिबारे गहिरो छलफल गरिएको थियो।
प्रशिक्षक डा. पौडेलले महिनावारी हुने जैविक प्रक्रिया, यसको सामाजिक महत्व र मानवअधिकार सम्वन्धि विस्तृत जानकारी दिँदै, महिनावारीका बेला आउने रगत सफा, शुद्ध र पवित्र हुने बताउनु भयो । उहाँले यही रगतकै कारण मानव जीवनको जन्म सम्भव भएको उल्लेख गर्दै, महिनावारीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सबैले बुझ्न र बुझाउन जरुरी रहेको धारणा राख्नु भयो ।
तालिममा जिल्लाका १० वटै स्थानीय तहका उपप्रमुख, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुखहरू, सञ्चारकर्मीहरू तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
समविकास नेपालद्वारा आयोजित उक्त तालिममा सामाजिक विकास कार्यालय अछाम सहआयोजकको रूपमा रहेको थियो भने ग्रिनतारा नेपाल को सहकार्य रहेको थियो।
समविकास नेपालका अध्यक्ष दुधकला विष्ट को अध्यक्षतामा बिहीबार सम्पन्न समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यज्ञ बुढा, प्रहरी प्रमुख डीएसपी ओमप्रकाश खनाल, राष्ट्रिय अनुसन्धान विभागका डीएसपी प्रकाश पौडेल लगायतको उपस्थिति रहेको थियो।




