अछाम फाल्गुन ०१ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका प्रदेश तथा स्थानीय सरकारहरूको कार्यसम्पादन मूल्याङ्कनकाे नतिजा सार्वजनिक गरेको छ ।
संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले गरेको मूल्याङ्कनको नतिजा विहिबार सार्वजनिक गरिएको हो। उक्त मूल्याङ्कन नतिजाअनुसार अछाम जिल्लामा पञ्चदेवल विनायक नगरपालिका प्रथम स्थान हासिल गर्न सफल भएको छ। नगरपालिकाले ६९ दशमलव ४६ अंक प्राप्त गर्दै जिल्लामै प्रथम भएकाे छ । यस्तै ६७.२२ अंक प्राप्त गरि चौरपाटी गाउपालिका जिल्लाको दोस्रो भएको छ भने ६६.३४ अंक प्राप्त गरि ढकारी गाउपालिका जिल्लाको तेस्रो भएको छ ।
आयाेगले सार्वजनिक गरेकाे नतिजाको प्रशंसा गर्दै नगर प्रमुख अम्बिका चलाउनेले सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै नगरबासीको सकारात्मक सुझावकाे अपेक्षा सहित सुधारका लागि निरन्तर लागि पर्ने विश्वास व्यक्त गर्नु भयो ।
संघीय सरकारले विना शर्त प्रदेश र स्थानीय तहमा पठाउने अनुदानलाई नै वित्तीय समानीकरण अनुदान भनिन्छ। यस्तो अनुदानको सिफारिस गर्ने जिम्मेवारी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई दिइएको छ। यसका लागि आयोगले विभिन्न सूत्र तयार गरेको छ, जसअन्तर्गत कार्यसम्पादन मूल्याङ्कन एक प्रमुख आधारको रूपमा प्रयोग गरिएको छ। स्थानीय तहका लागि १७ वटा सूचकहरूका आधारमा मूल्याङ्कन गरिएको आयोगले जनाएको छ। यी सूचकहरूमा बजेट समयमै पेश र पारित, राजस्व परिचालन, खर्चको अवस्था, बेरुजु व्यवस्थापन, SUTRA प्रणालीको प्रयोग, आवधिक योजना, शिक्षा तथा स्वास्थ्यसँग सम्बन्धित सूचकहरू समावेश रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय