रमिता बि.क
चैत्र २८: कमलबजार नगरपालिका क्षेत्रमा रहेका बालबालिकाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा बाल अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पालिका स्तरीय बाल सञ्जालको क्षमता विकास तालिम कमलबजारमा आजदेखि सुरु भएको छ। दुई दिनसम्म सञ्चालन हुने उक्त तालिम भोलि समापन हुने कार्यक्रम रहेको छ।कार्यक्रम बाल सन्जाल कि अध्यक्ष डिग्रा बजगाई काे अध्यक्षतामा भएको हाे। कार्यक्रममा प्रमुख अतिथिको रूपमा कमलबजार नगरपालिकाका उपप्रमुख तथा बाल अधिकार संयोजक शारदा बिष्ट को उपस्थिति रहेको थियो।
सोही तालिममा बालबालिकाको अधिकार सुनिश्चित गर्ने, उनीहरूको नेतृत्व क्षमता विकास गर्ने तथा स्थानीय तहमा बालमैत्री शासन प्रणाली सुदृढ गर्ने लक्ष्यसहित तालिम आयोजना गरिएको हो।
उक्त कार्यक्रमको आयोजना नगरस्तरीय बाल सञ्जाल कमलबजार नगरपालिकाले गरेको हो भने सहयोगमा महिला तथा बालबालिका शाखा, ज्येष्ठ नागरिक शाखा कमलबजार नगरपालिका लगायत सरोकारवाला निकायहरूको सहकार्य रहेको छ। कार्यक्रम वल्ड भिजन इन्टरनेशनल नेपाल (आस्था–नेपाल) को सहयोगमा सञ्चालन गरिएको थियो। ।
तालिममा सहभागी बाल सञ्जालका प्रतिनिधिहरूलाई बाल अधिकार, बाल सहभागिता, नेतृत्व विकास, सञ्जाल सञ्चालन, समन्वय तथा वकालत सम्बन्धी विषयमा सहजीकरण गरिने आयोजकले जनाएको छ। यसले बालबालिकालाई आफ्नो हक अधिकारबारे सचेत गराउँदै स्थानीय तहमा सक्रिय सहभागिता जनाउन सक्षम बनाउने विश्वास लिइएको छ।
कार्यक्रमका प्रमुख अतिथि शारदा बिष्ट ले बालबालिका राष्ट्रका भविष्य भएकाले उनीहरूको अधिकार संरक्षण र क्षमता विकासमा सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले स्थानीय तहले बालमैत्री नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको समेत उल्लेख गर्नुभयो।
अध्यक्षता गर्दै डिक्रा बज्गाईले बाल सञ्जाललाई अझ प्रभावकारी र सशक्त बनाउन यस्ता तालिमहरू महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। उहाँले सिकेका सीपहरू व्यवहारमा लागू गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउन सहभागीहरूलाई आग्रह गर्नुभयो।
आजदेखि सुरु भएको यो तालिम भोलि समापन हुने जनाइएको छ। कार्यक्रमले बालबालिकामा नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व बोध गराउने अपेक्षा गरिएको छ।




