टंक प्रसाद रिमाल
मंगलसेन,असार ७ । ‘स्वस्थकर वृद्धावस्थाका लागि योग’ भन्ने मूल नाराका साथ १२औँ अन्तर्राष्ट्रिय योग दिवस अछामको सदरमुकाम मंगलसेनमा विविध कार्यक्रमका साथ मनाइएको छ।
सामाजिक विकास कार्यालय अछाम, जिल्ला प्रशासन कार्यालय अछाम, स्वास्थ्य कार्यालय अछाम, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र अछाम, अछाम जेसिस,पतन्जली योग समिती अछाम तथा षोडशा देवी माध्यमिक विद्यालय मंगलसेनको संयुक्त आयोजनामा योग दिवस मनाइएको हो। दिवसका अवसरमा श्री षोडशा देवी माध्यमिक विद्यालयको खुला मैदानमा सामूहिक योग अभ्यास कार्यक्रम आयोजना गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बुढाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवर प्रमुख अतिथि रहनुभएको थियो भने मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी, सामाजिक अभियन्ता तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रशिक्षकहरूको नेतृत्वमा सहभागीहरूले विभिन्न योगासन, प्राणायाम तथा ध्यान अभ्यास गरेका थिए। योग अभ्यासका क्रममा शारीरिक तन्दुरुस्ती, मानसिक सन्तुलन तथा सकारात्मक जीवनशैली विकासमा योगको महत्वबारे जानकारी समेत प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कुँवरले आधुनिक जीवनशैलीका कारण बढ्दै गएका नसर्ने रोग, मानसिक तनाव तथा स्वास्थ्य समस्याहरूको न्यूनीकरणका लागि योग प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले योगलाई केवल एक दिनको औपचारिक कार्यक्रममा सीमित नराखी दैनिक जीवनको अभिन्न अंगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
विशिष्ट अतिथि तथा मंगलसेन नगरपालिकाका प्रमुख बोहराले स्वस्थ नागरिक नै समृद्ध समाज निर्माणको आधार भएकाले योग र स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई स्थानीय तहले प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले नियमित योग अभ्यासले व्यक्तिको शारीरिक स्वास्थ्यसँगै मानसिक सुदृढता र कार्यक्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बुढाले योग पूर्वीय सभ्यता र जीवन दर्शनको महत्वपूर्ण सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण, प्रवर्द्धन र व्यवहारिक अभ्यास आवश्यक रहेको बताउनुभयो। उहाँले विशेषगरी वृद्धावस्थामा देखिने विभिन्न स्वास्थ्य समस्याको जोखिम कम गर्न योग महत्वपूर्ण साधन बन्न सक्ने धारणा राख्नुभयो।
वक्ताहरूले नियमित योग अभ्यासले तनाव व्यवस्थापन, उच्च रक्तचाप, मधुमेह, मोटोपन लगायतका स्वास्थ्य समस्याको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने तथा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने बताएका थिए। उनीहरूले स्वस्थ शरीर, शान्त मन र अनुशासित जीवन निर्माणका लागि दैनिक रूपमा केही समय योगका लागि छुट्याउन सबैलाई आग्रह गरेका थिए।
हरेक वर्ष जुन २१ का दिन विश्वभर अन्तर्राष्ट्रिय योग दिवस मनाइने गरिन्छ। योगको महत्वबारे विश्वव्यापी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१५ देखि यो दिवस मनाउन थालिएको हो। नेपालमा पनि सरकारी तथा गैरसरकारी निकायहरूको सहकार्यमा विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिएको छ।


फोटो क्याप्सन : १२औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अछामको मंगलसेन स्थित षोडशा देवी माध्यमिक विद्यालयको मैदानमा आयोजित सामूहिक योग अभ्यास कार्यक्रममा सहभागी सरकारी कार्यालयका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सर्वसाधारण।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय