
कमलबजार माघ १८, २०७७ आइतबार
कमलबजार- आज कमलबजार नगरपालिकामा “कोरोना महामारीमा हाम्रो संयमता, समयमै कुष्ठरोग व्यवस्थापनमा सक्रियता” भन्ने नाराकाका साथ ६८ औं विश्व कुष्ठरोग दिवस, मनाइएको कमलबजार छ ।
कमलबजार नगरपालिकामा हाल कुष्ठरोगका ४ जना बिरामी नियमित उपचारमा रहेको र समाजमा हाल पनि लुकेर रहेका र अन्तिम चरणमा मात्र स्वास्थ्य संस्थाको सम्पर्कमा आउने गरेका कारण अपाङ्गता हुने दर बढ्ने सम्भावना रहेको र समाजमा लुकेर रहेका विरामी को समयमै उपचार गर्नको लागी खोज पडताल कार्यक्रम जारि रहेको स्वास्थ्य शाखाका क्षयकुष्ठ फोकल पर्सन टेक बहादुर बिष्ट ले जानकारि गराउनु भएको छ ।
प्रभावितहरूप्रति जागरुकता देखाउने उदेश्यले सन् १९५४ देखि यो दिवस विश्वभर मनाउन थालिएको हो ।
कुष्ठरोगका विरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले आज विभिन्न कार्यक्रम हुँदै छ । यो रोग माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु ब्याक्टेरियाको सङ्क्रमणले लाग्ने गर्छ । सङ्क्रमणको सुरुमा कुनै लक्षण देखा नपर्न पनि सक्छ ।
कतिपय सङ्क्रमित व्यक्तिहरुलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव देखिँदैन । कुष्ठरोग सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचेक्र्याइँ गर्दा बिरामीको अवस्था नाजुक भएर ज्यानसमेत गएको पाइन्छ ।
विशेषगरी तराईका १६ जिल्लामा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखा पर्ने, हातखुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महशुस हुँदै जानु कुष्ठरोगका लक्षण रहेको डाक्टरहरुको भनाइ छ ।
नेपालमा सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा कम रोगी भएको अवस्थालाई रोग निवारण भएको मानिन्छ । तर, कुष्ठरोग निवारणको घोषणा भए पनि नयाँ बिरामी देखिन थालेकाले चुनौती थपिएको छ ।
नेपालमा हरेका वर्ष ३ हजारभन्दा धेरै नयाँ बिरामी थपिने गरेका सरकारी तथ्याङ्क छ । कुष्ठरोगबारे नकारात्मक सोच र सही जानकारीको अभावले रोग लुकाउने र समयमै उपचारको खोजी नगर्ने प्रवृत्तिले जोखिम बढ्दै गएको विज्ञको भनाइ छ ।