
खगेन्द्र उपाध्याय
पन्चदेवल बिनायक नगरपालिकाको आयोजना एवं आस्था नेपाल अछाम र वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको संयुक्त साझेदारीमा पालिका स्तरीय जीवन उपयोगी सीप सम्बन्धी रूपान्तरण संन्जाल गठन गरिएको छ।
पालिकाका ६ वटा वडाहरूमा गत बर्ष संचालन भैसकेका र यो बर्ष पनि संचालन भईरहेका रूपान्तरण कक्षाका सहभागीहरू भेला भई एक आपसमा सिकाई आदान प्रदान गरिएको छ। रूपान्तरण कक्षामा सहभागी भईसकेपछी आफुहरुले फजुल खर्चलाई कटाएर खुत्रुके बचत गर्न थालेको, हरेक बार खाना चार जस्ता पोषणका बिषयमा ज्ञान पाएको, बालबालिकाको अधिकार र कर्तव्य बारे थाहा पाएको, आफुलाई अप्ठ्यारो परिस्थितीमा सहयोग गर्ने विश्वासिला व्यक्तिहरूको पहिचान गर्न सिकेको,नियमित स्कुल जाने बानिको बिकास भएको,आफ्नो भनाईहरू ढुक्क संग राख्न सक्ने भएको,समाज रूपान्तरकालागि हुने सामाजीक काममा अग्रसर हुन थालेको, याैन तथा प्रजनन् स्वास्थ्यको बारेमा थाहा पाएको,लैङ्गिकता र सामाजिक समावेशीकरणका बिषयमा ज्ञान हासिल गरेको, प्राथमिक उपचार के हो , कस्तो बेलामा प्राथमिक उपचार काम लाग्छ, व्यवस्थित महिनावारी कसरी गर्न सकिन्छ, संचार भनेको के हो प्रभावकारी संचार कसरी गर्ने र किन आवश्यक छ जस्ता जीवनमा काम लाग्ने महत्वपूर्ण कुराहरू सिकाई भएको कुरा सहभागीहरूले व्यक्त गरेका थिए।
साथै रूपान्तरण कक्षाले किशोर किशोरीहरूमा नेतृत्व विकासको सीप अभिबृध्दि गरेको छ । आफ्ना राम्रा र नराम्रा बानीहरुको बारेमा जानकारी पाई नराम्रा बानीहरू हटाउने सीपको पनि बिकास गरेको छ। यसैगरी रूपान्तर कक्षामा सहभागी भईसकेपछी बाल बिबाह के हो र यसका असरहरूको बारेमा पनि राम्ररी ज्ञान पाएका छन्, आफ्नो जीवनलाई गुणस्तरीय र असल बनाउनका लागि रूपान्तर कक्षाले महत्त्वपूर्ण सहयोग पुर्याएको कुरा सहभागीहरूले सुनाएका थिए।
बढ्दो उमेर संगै किशोर किशोरीहरूमा आउने शारीरिक, मानसिक र संवेगात्मक परिवर्तन र त्यसको नकारात्मक असरलाई व्यवस्थापन गर्न रूपान्तरण कक्षा महत्वपूर्ण मानिएको छ। यति मात्र होईन किशोरीहरूलाई व्यक्तिगत जीवनमा आईपर्ने संभावित हिंसा, शोषण, दुर्व्यवहार, बलात्कार जस्ता घटनाहरूलाई प्रतिकार गर्न सक्ने क्षमता विकासका लागि एक हप्ताको आत्म सुरक्षा सीप पनि यसै रूपान्तरण कक्षाको प्याकेजमा समावेश गरिएको हुन्छ। तनाव व्यवस्थापन गर्ने सीपहरू पनि यसै कक्षामा सिकाईने भएको ले किशोर किशोरी हरुले आफ्नो जीवनमा आउने तनावहरू पनि व्यवस्थापन गर्न सकेको बताएका छन् जसले गर्दा, आत्महत्या, कुलत, दुर्व्यसनी जस्ता कुराहरूबाट पनि किशोर किशोरीहरू सचेत रहेको कुरा कार्यक्रमका एक सहभागी रीता ढकालले बताईन्। सहभागिहरूले आगामी दिनमा स्थानिय सरकारले पालिकाका सबै वडाहरूमा रूपान्तरण कक्षाहरू संचालन गर्नु पर्ने सुझावहरू दिएका छन्। मुख्यगरी रूपान्तरणमा १५ वटा खण्डहरू रहेका छन्।
१.मेरो संसार २.आत्म जागरण ३. अधिकार र कर्तव्य ४.लैङ्गीकता र सामाजीक समावेशिकरण ५.किशोरावस्था ६.राम्रो बानी ७.पोषण ८.प्राथमिक उपचार ९.नागरिक सहभागीता १०.प्राकृतिक स्रोतहरू ११.खर्च र बचत १२.जीविकोपार्जनका बिकल्पहरू १३.याैन तथा प्रजनन् स्वास्थ १४.लैङ्गिकतामा आधारित हिंसा १५.लघु उद्यम र विकास
किशोर किशोरीहरुले करिव ३५ हप्ताको प्रत्येक शनिवारमा सन्चालन हुने कक्षामा सहभागी भएर यी १५ वटा खण्डहरू र आत्म सुरक्षा सीपको बारेमा सिक्ने गर्दछन्।
पन्चदेवल बिनायक नगरपालिका सामाजिक विकास समतिका संयोजक श्री दुर्गा प्रसाद तिमिल्सैनाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पालिकाका महिला बालबालिका एवं ज्येष्ठ नागरिक शाखा प्रमुख भावन शर्मा , पोषण स्वयं सेवक श्री हंसराज अधिकारी , आस्था नेपाल अछामका प्रेमा कुमारी शाही लगाएतको सहभागीता रहेको थियो। कार्यक्रमबाट समीक्षा बोहोराको संयोजकत्वमा १५ सदस्यीय पालिका स्तरीय रूपान्तरण संजाल गठन गरि उक्त संजालको काम कर्तव्य र अधिकार बारे अभिमुखीकरण गरिएको छ । यस कार्यक्रमको सहजीकरण आस्था नेपाल अछामका दिल बहादुर शाही र खगेन्द्र उपाध्यायले गर्नु भएको थियो।