कैलाली,४ फागुन । कैलालीमा रहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिन ढिलाइ भएपछि स्थानीय थप त्रसित भएका छन् । बाघले मान्छेसमेत मारिसकेको अवस्थामा त्यसलाई नियन्त्रणमा लिन ढिलाई हुँदा त्यसले थप मानवीय क्षति गर्न सक्ने भन्दै बाघ देखिरहेको क्षेत्रका स्थानीय त्रसित भएका हुन ।

नरभक्षी बाघ गौरीगङ्गा नगरपालिकाको बढैपुर, राजिपुर, अण्डैया र कैलारी गाउँपालिकाको दुधिया, उदासीपुर लगायतमा रहेको सामुदायिक वनहरुमा घुमिरहेको छ । मान्छेको ज्यान लिइ सकेको बाघलाई नियन्त्रणमा लिन ढिलाइ भइरहेको स्थानीयले बताएका छन् ।

बाघको कारण पूर्वपश्चिम राजमार्गमा ओहोरदोहोर गर्नसमेत गाह्रो भएको हीरा चौधरीले बताइन् । ‘नरभक्षी बाघको कारण नियमित काममा जान पनि डर भइसकेको छ’, उनले भनिन् । शुक्रबारदेखि सो क्षेत्रमा बाघले आफ्नो ‘मुभमेन्ट’ बढाएको छ । मान्छे मारिसकेको सो बाघ नरभक्षी भइसकेको छ । आइतबार पनि गौरीगणेश सामुदायिक वन क्षेत्र, बढैपुर–उदासीपुर सडकखण्ड क्षेत्रमा बाघ देखिएको छ ।

नरभक्षी बाघका कारण मान्छेमा त्रास फैलिएपछि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बाघका कारण थप मानवीय क्षति हुन नदिनका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

‘बाघले थप मानवीय क्षति नगरोस भनेर बाघ प्रभावित क्षेत्रमा सुरक्षाकर्मी खटाइएको छ’, उनले भने । ‘तर, बाघ नियन्त्रण गर्ने निर्देशन हामीलाई आएको छैन । त्यो काम उपकरणसहितको प्राविधिक टोलीको हो ।’ यसैगरी, बाघले थप मानवीय क्षति पु¥याउन सक्ने अवस्थालाई मध्यनजर सामुदायिक वन समन्वय समिति मसुरियाले सो क्षेत्रमा जथाभावी हिडडुल नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

नरभक्षी पाटेबाघको लोकेशन पत्ता लगाउनका लागि चार ठाउँमा क्यामेरा थापियो

नरभक्षी पाटेबाघको लोकेशन पत्ता लगाउनका लागि क्यामेरा पासो थापिएको छ । बाघले घुमफिर गरिरहेको क्षेत्रमा क्यामेरा ट्रयाप गरिएको डिभिजन वन कार्यालय कैलालीले जानकारी दिएको छ । ‘सबैभन्दा पहिले बाघको लोकेशन पत्ता लगाउन आवश्यक छ’, डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले भने । ‘त्यसको लोकेशन पत्ता लगाउनका लागि चार ठाउँमा क्यामेरा ट्रयाप गरिएको छ ।’ उनले आवश्यक परे थप क्यामेरा पनि राखिने बताए ।

बाघलाई बेहोस बनाएर (डार्ट गरेर) नियन्त्रणमा लिनका लागि सबैभन्दा पहिले उसको लोकेशन पत्ता लगाउन जरुरी रहेको कँडेलले बताए । ‘डार्टिङ गर्नका लागि बाघ कता छ, भन्ने कुरा पत्ता लगाउनु पर्ने हुन्छ’, उनले भने । नरभक्षी बनिसकेको वयस्क पाटेबाघ गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिकाका सामुदायिक वनमा घुमफिर गरिरहेको छ । दुधिया, उदासीपुर, बढैपुर, राजिपुर, अण्डैया क्षेत्रमा बाघले मुभमेन्ट गरेको छ । बाघले मुभमेन्ट गरेको क्षेत्र बसन्ता जैविकमार्ग अन्तर्गत पर्दछ ।
कैलालीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाघले आइतबार अपराह्नतिर गौरीगङ्गा नगरपालिका–५ अण्डैयाकी २५ वषीया कला धामीको ज्यान लिइसकेको छ । पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी धामीमाथि बाघले आक्रमण गरेको थियो । आक्रमण गरेको केही पर धामीको शव फेला परेको थियो । यसैगरी, शुक्रबार कैलारी गाउँपालिका–८ स्थित सीताकुँवा सामुदायिक वनमा दुधियाका २८ वर्षीय दुर्गाप्रसाद चौधरीमाथि बाघले आक्रमण गरेको थियो ।

विवाहका लागि सालको पात टिप्न गएका चौधरी बाघसंगको जम्काभेटमा घाइते भएका थिए । पिठ्यु र टाउँकोमा बाघले घाउ बनाएको छ । चौधरीको नेपालगञ्जमा उपचार भइरहेको छ । बाघले मान्छेको ज्यान लिएपछि प्रशासन पनि गम्भीर बनेको छ । बाघले मान्छेको ज्यान लिन थालेपछि डार्ट गरेर नियन्त्रणमा लिने वा गोली हानेर मार्न सक्ने व्यवस्था रहेको सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले बताए ।

‘बाघले थप क्षति गरिरहेको छ भने खतराको अवस्था विश्लेषण गरेर गोली हानेर मार्न सकिने पनि कानूनी प्रावधान छ’, उनले भने । स्थानीयस्तरबाट भने मान्छे मार्ने बाघलाई मार्नु पर्ने आवाज उठेको छ । डिभिजन वन कार्यालय प्रमुख कँडेलले बाघलाई डार्ट गरेर नियन्त्रण लिने र त्यसको लागि प्रक्रिया थालिएको बताए । ‘विभाग र बर्दिया राष्ट्रिय निकुञ्जसंग मेरो कुरोकानी भइसकेको छ’, उनले भने । ‘तर, तत्काल बर्दियामा भेटेरेनरी डाक्टर नभएकाले समस्या हुने भयो ।’ बर्दिया राष्ट्रिय निकुञ्जमा डार्ट गर्ने प्राविधिक नरहेका कारण अन्यत्रबाट बोलाउनु पर्ने अवस्था रहेको कँडेलले बताए । उनले आजसम्म डार्ट गर्ने प्राविधिक टोली आइपुग्ने उल्लेख गरे ।

गएको शुक्रबारदेखि कैलालीमा मान्छेमाथि आक्रमण गरिरहेको बाघ बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज वा भारतको दुधुवा नेशनलपार्कमध्ये कहाँबाट आएको हो भन्ने पुष्टि भइसकेको छैन । यो नरभक्षी बाघमा सम्भवतः जीपीएस नरहेको बताइएको छ । यो बाघ कहाँबाट आएको हो भन्ने पुष्टि नभए पनि दक्षिण बेल्टबाट सामुदायिक वनमा प्रवेश गरेको कँडेलले बताए ।

‘बाघमा जीपीएस लागेको भए त्यसको लोकेशन पत्ता लगाउन र कहाँबाट आएको हो भन्ने थाहा पाउन सहज हुन्थ्यो’, उनले भने । ‘तर, जीपीएस रहे÷नरहेको वा बाघ कताबाट आएको हो भन्नेबारे पुष्टि भइसकेको छैन ।’ उनले बाघलाई नियन्त्रणमा नलिइएसम्म त्यसको लोकेशन पत्ता लगाउने र स्थानीयस्तरमा सुरक्षाको लागि सचेतना फैलाउनुबाहेक तत्काल केही गर्न नसकिने उल्लेख गरे । ‘जीउज्यानको थप क्षति हुन नदिनका लागि हामी स्थानीयस्तरमा जनचेतना फैलाउने काम गर्छौ’, उनले भने । ‘वन्यजन्तुलाई जिस्काउनु हुन्न । त्यसो गरेमा झन आक्रमक बन्ने गर्दछन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय